डोल्पा, ४ असोज । जिल्ला शिक्षा अधिकारी समन्तमणि आचार्यले नपढाएरै तलब पकाउने उत्तरी भेगका शिक्षकलाई आफूले कारबाही गर्न खोज्दा उल्टै आफ्नो सरुवा भएको गुनासो गर्नुभएको छ ।
जिल्लाका सरकारी विद्यालयमा वर्षौदेखि नपढाएरै तलबभत्ता खाने तथा हजाराँै विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै आएका खेताला शिक्षकलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन खोज्दा विभिन्न दलको दबाबमा आफ्नो सरुवा भएको उहाँको भनाइ छ ।
आचार्यले यार्सागुम्बा टिप्ने याममा पढाउन छाडेर सङ्कलन गर्न र बेच्न जाने तथा खेताला शिक्षक राखेर आफू अन्यत्र काम गर्ने शिक्षकलाई जिल्लाको तल्लो क्षेत्रका विद्यालयमा काजमा ल्याउन खोज्दा आफू दलहरुको दबाबमा परेको बताउनुभयो ।
आचार्यले नपढाउने पचासभन्दा धेरै शिक्षकलाई स्पष्टीकरण सोधिएको, विद्यार्थी सङ्ख्या कम भएको विद्यालयलाई मिलानको प्रक्रिया अगाडि बढाइएको, मापदण्ड विपरीत सञ्चालन गरिएका संस्थागत विद्यालयका कक्षा खारेज गरिएको, अध्यापन अनुमतिपत्र नलिएरै अध्यापन गरिरहेका शिक्षकलाई आफूबाट कारबाही गरिँदा सरुवा भएको बताउनुभयो ।