पोखरा, २ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले निजी क्षेत्र सशक्त नभएसम्म देश बलियो नहुने बताउनुभएको छ ।
नयाँ संविधान घोषणा हुने भएपछि संविधान आउँदैन की भन्ने द्विविधा अब हटेको छ भन्दै गभर्नर डा नेपालले हरेक नागरिकले मुलुकबाट के लिएभन्दा पनि के दिए भन्ने सोचका साथ अघि बढ्नु पर्ने बेला आएको बताउनुभयो ।
गभर्नर डा नेपालले विदेशी दातृ निकायले दिएको सहयोगले २० वर्षमा हुने काम हामी आफैँ स्रोत र साधन जुटाएर कस्सियौँ भने त्यस्तो काम १० वर्षमै पूरा गर्न सक्छौँ भन्नुभयो ।
शिक्षा सचिव विश्वप्रकाश पण्डितले लेखनाथ नगरपालिकाका क्षेत्रमा जहाँ जे विकासको सम्भावना छ त्यसलाई अगाडि बढाउँदै गयौँ भने नगरपालिका छिट्टै नै नमूना सहर बन्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले उत्पादनशील क्षेत्रको पहिचान गरी लगानी बढाउनुपर्ने धारणा राख्नुभयो ।
नेपाली काँग्रेस कास्कीका सभापति एवम् सभासद् यज्ञबहादुर थापाले अब संविधान घोषणा भएपछि कलझगडा छोडेर आर्थिक समृद्धितिर लाग्न सबैसँग आग्रह गर्नुभयो ।
सङ्घका अध्यक्ष बाबुराम गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापा, लेखनाथ नगरपालिकाका अधिकृत राममणि अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीलगायतले बोल्नु भएको थियो ।
सङ्घको अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम छ ।