काठमाडौ ३० भदौ । एएफसी अण्डर १६ च्याम्पियनसिप फुटबल आजबाट किर्गीस्तानमा सुरु हुँदैछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार अपरान्न पौने तीन बजे सुरु हुनेछ ।
लामो तयारीपछि किर्गीस्तान गएको नेपाली युवा टोलीले यसपटक छनौट चरण पार गर्ने लक्ष्य लिएको छ । यद्यपी फिफा वरियतामा नेपालभन्दा निकै माथि रहेको जोर्डन विरुद्धको खेल नेपालको लागि कठिन हुने देखिन्छ ।
जोर्डनपछि समुह बी मा रहेको नेपालले आगामी असोज १ गते आयोजक किर्गीस्तानको सामना गर्नेछ । यस्तै असोज ३ गते नेपालले ओमानसँग खेल्ने तालिका रहेको छ । भारतमा हुने फाईनल चरणको लागि एशियाका ४५ राष्ट्रलाई ११ समुहमा विभाजन गरी छनौट चरण खेलाईदैछ ।
प्रत्येक समुहका विजेता, चार उत्कृष्ट उपविजेता तथा आयोजक भारत समेत गरी कुल १६ टोलीले एएफसी अन्डर सिक्सटीन च्याम्पियनसिप फुटबलको अन्तिम चरण खेल्नेछन् ।