काठमाडौँ, २८ भदौ ।
‘गोरखा भूकम्प’पछि रोकिएको रेडबुल राष्ट्रिय लिग आजदेखि पुनः सुरु भएको छ ।
सातदोबाटोस्थित एन्फ मैदानमा सुरु प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच भएको खेल गोलरहित बराबरीमा सकिएको छ । मुख्य स्टाइकरबिना नै मैदान उत्रेको पुलिस दबाबमा परे पनि गोल खानबाट जोगियो ।
उसका स्ट्राइकर जुमानु राई, गोलकिपर रितेश थापा, मिडफिल्डर भोला सिलवाल, रक्षक रवीन श्रेष्ठ र अजित भण्डारी घाइते छन् । जितको लक्ष्यसहित मैदान उत्रेको मनाङले सोचेअनुसारको खेल प्रदर्शन गर्न सकेन र अङ्क बाँड्न बाध्य भयो । उत्कृष्ट खेल प्रदर्शन गरेका पुलिसका सुरज विक ‘म्यान अफ दि म्याच’ घोषित भए ।
जारी राष्ट्रिय लिगमा मोफसलका चार र ’ए’ डिभिजनका विभागीय तीनसहित पाँच क्लब गरी नौ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । मोफसलबाट झापा, सुदूरपश्चिम, मोरङ र जगदम्बा लुम्बिनी तथा राजधानीका थ्रीस्टार, मनाङमस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ र त्रिभुवन आर्मी सहभागी छन् । जारी प्रतियोगिताका बाँकी सबै खेल एन्फा मैदानमा हुनेछन् ।
प्रतियोगिताको अङ्क तालिकामा झापा १६ अङ्कसहित शीर्ष स्थानमा छ । चौध अङ्क जोडेको एपिएफ दोस्रो, १२ अङ्क जोडेको मनाङ तेस्रो, ११ अङ्क जोडेको आर्मी चौथो र त्यति नै अङ्कका साथ थ्री स्टार पाँचौँ, सात अङ्क जोडेको नेपाल पुलिस छैटौँ, सातै अङ्क जोडेको सुदूरपश्चिम सातौँ तथा चार÷चार अङ्क जोडेका मोरङ र लुम्बिनी क्रमश आठौँ र नवौँ स्थानमा छन् ।
प्रतियोगिताअनुसार भोली अपराह्न ३ः३० बजे एपिएफ र थ्रीस्टारबीच खेल हुनेछ ।