गोरखाबजार, २६ भदौ ।
गोरखाको लाप्राक गाउँका स्थानीयवासीले पाँच महिनादेखि विद्युत् प्रयोग गर्न पाएका छैनन् । भूकम्पपछि गएको पहिरोले बिग्रीएको अहिलेसम्म मर्मत नहुदा स्थानीय समस्यामा परेका छन् ।
विद्युत् अवरुद्ध भएपछि मोबाइल चार्ज गर्न, रेडियो, टिभी सुन्न, कुटानीपिसानी मिल सञ्चालन गर्न नसकिएको गुनासो स्थानीयवासी धनबहादुर गुरुङले गर्नुभयो ।
लिसाङ खोला लघुजलविद्युत् आयोजना पहिलो र दोस्रो अवरुद्ध भएर विद्युत् नहुँदा विद्यार्थीले साँझ परेपछि पढ्न पाएका छैनन् । गाउँले रातमा अन्धकारमा बस्न बाध्य छन् ।
ती दुवै आयोजना २५÷२५ किलोवाट क्षमताका हुन् । केही स्थानीयवासीले सोलार बत्तीले गुजारा चलाउँदै आएका छन् ।
स्थानीयवासी गुरुङले भन्नुभयो, “सबै गाउँलेको टहरोमा सोलार बत्तीको सुविधा छैन । कुहिरो लागेको, पानी परेका बेला सोलार चार्ज हुँदैन” लाप्राकीहरु मट्टीतेल प्रयोग गरेर टुकी बाल्दैनन् । भूकम्पपछि लाप्राकीहरु गाउँ छाडेर गुप्सीपाखा खर्कमा अस्थायी टहरोमा बस्दै आएका छन् । “भूकम्पले भत्केको जलविद्युत् छिट्टै मर्मत गर्नुपर्छ” उहाँले भन्नुभयो ।
लिसाङ खोला पहिलो सरकारको सहयोगमा गाउँलेले विसं २०६० मा निर्माण गरेका थिए । लिसाङ खोला दोस्रो निजीस्तरबाट डम्बर गुरुङले विसं २०७० मा निर्माण गर्नुभएको थियो । गाउँलेले मासिक रु ६० विद्युत् महसुल तिर्दै आएको गुरुङको भनाइ छ ।
जिविस गोरखाअन्तर्गतको वातावरण तथा ऊर्जा शाखाका प्रमुख कुलराज चालिसेका अनुसार भूकम्पले अवरुद्ध बनाएको लघुजलविद्युत्को मर्मतका लागि बजेटको अभाव छ ।
सौरपानी क्षेत्रमा अवरुद्ध विद्युत् आयोजना स्थानीयवासीले चन्दा उठाएर सञ्चालनमा ल्याएको र आयोजना मर्मतका लागि बजेट केन्द्रसँग माग गरिएको उहाँले बताउनुभयो । लाप्राकमा ५९५ वटा टहरोमा स्थानीयवासी बस्दै आएका छन् ।