काठमाडौँ, २४ भदौ ।
बबरमहलस्थित नेपाल कला परिषद्मा भर्खरै सम्पन्न शिक्षासम्बन्धी व्यङ्ग्य चित्रकला प्रदर्शनी नियाल्दा देशको वर्तमान शैक्षिक क्षेत्र कता गइरहेको स्पष्ट देखिन्थ्यो ।
देशमा संविधानको निर्माण चटारो भएको बेला राजनीतिक विषयमा सबैको ध्यान जानु स्वाभाविकै हो तर प्रदर्शनीमा राखिएका व्यङ्ग्यले यो बोलिरहेको थियो, ‘देशको राजनीतिमा मात्र हैन, हरेक क्षेत्रमा उत्तिकै समस्या र कमजोरी छन् ।’
एकातिर त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा संयोजक भएर चिकित्सा शिक्षा सुधारसम्बन्धी तयार पारेको ‘माथेमा प्रतिवेदन’ लागू हुनुपर्ने सर्त राखेर डा गोविन्द केसीले गरेको अनशन र सम्झौतापछि यस क्षेत्रमा चिकित्सा शिक्षाबारे चासो बढिरहेको छ, अर्कातिर उनै डा माथेमा भने शिक्षा क्षेत्र सुधारका लागि व्यङ्ग्यचित्र बनाउन विषयवस्तु छान्नमा व्यस्त थिए । शिक्षा क्षेत्रको सुधार गर्न दृढ भएर लागिपरेका डा माथेमाको व्यङ्ग्यचित्रले प्रदर्शनीमा ठाउँ नपाउने कुरै भएन ।
तीन दिनसम्म चलेको व्यङ्ग्यचित्र प्रदर्शनीमा डा माथेमा त थिए नै, यही विधामा वरिष्ठता हासिल गरेका व्यङ्ग्यचित्रकार दुर्गाप्रसाद बराल ‘वात्सायन’का चित्र पनि त्यहाँ थिए । नेपालमा शैक्षिक व्यङ्ग्यचित्र प्रदर्शनी भएको पहिलो पटक हो । शिक्षा क्षेत्रका विकृति हटाउन यस्ता प्रदर्शनी पटक पटक हुनुपर्ने बताउँदै डा माथेमा भन्नुहुन्छ, “शिक्षा क्षेत्र मात्र नभएर हरेक क्षेत्र सुधारका लागि अहिले देशलाई प्रशस्त ‘कार्टुनिस्ट’ र ‘कमेडियन’ चाहिएको छ ।”
डा माथेमाले बनाएको व्यङ्ग्यचित्रमा शिक्षक, अभिभावक र विद्यार्थी मिलेर एक धनाढ्य व्यापारीलाई सकी नसकी उचालिएको देखाइएको छ । महँगो ‘शिक्षाको भारी’लाई व्यङ्ग्यचित्रले प्रस्ट्याउन खोजेको हो । माथेमाको व्यङ्ग्यचित्रमा व्यावसायिक व्यङ्ग्यकारको झल्को देखिए पनि उहाँ आफूलाई व्यावसायिक मान्नुहुन्न । “व्यङ्ग्यचित्र बनाउने रहर जागेको भन्न मिल्दैन, थोरै खाली समय पाएँ भने पनि जथाभावी केर्ने बानी छ, त्यही कहिलेकाहीँ अरुका लागि ‘कार्टुन’ बनिदिन्छ”, उहाँ भन्नुहुन्छ ।
त्यस्तै वात्सायनले वृद्ध विज्ञान शिक्षकलाई बोकेर कक्षामा ल्याइरहेको देखाएर शिक्षामा सुधार गर्न आवश्यक भएको सन्देश दिन खोज्नुभएको छ । आफूले बनाएको व्यङ्ग्यचित्रलाई लक्ष्य गर्दै वात्सायन भन्नुहुन्छ, “युवालाई अवसर नदिने, एउटै शिक्षकले वर्षौँसम्म पढाइराख्ने परिपाटीको मैले विरोध गरेको हुँ ।”
शिक्षा पत्रकार समूह, कार्टुनिस्ट क्लब नेपाल र एलायन्स फर सोसियल डायलग (एएसडी)को संयुक्त आयोजनामा भएको प्रदर्शनीमा नयाँ र पुराना गरी २६ व्यङ्ग्यचित्रकारले बनाएका करिब ५५ व्यङ्ग्यचित्र राखिएका थिए । प्रदर्शनी उद्घाटन गर्न आएका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले व्यङ्ग्यचित्रले समाजलाई सजिलै प्रभावित गर्ने भएकाले यसलाई शिक्षाको माध्यम बनाउन व्यङ्ग्यचित्रकारलाई आग्रह गर्नुभएको थियोे ।
डा माथेमा र वात्सायनसँगै जीवन राजोपाध्याय, अशोकमान सिंह, रवीन साय्मी, खोकना, अविन श्रेष्ठ, केशवराज खनाल, भानु भट्टराई, आरके थापा, रवीन्द्र मानन्धर, दीपक गौतम, रवि मिश्र, हिमालय गौतम, राजेश मानन्धर, शैलेश गुरुङ, अकृन, देव कोइमी, योगेशकुमार खपाङ्गी तथा सुदर्शन सिग्देललगायतका व्यङ्ग्यचित्र प्रदर्शनीमा थिए ।
प्रदर्शनीमा राखिएको व्यङ्ग्यचित्रकार वासु क्षितिजको व्यङ्यचित्रमा बच्चा र पैसालाई तराजुमा राखेर बराबरी तौलिएको छ, जहाँ बोर्डिङ स्कुलमा लिने गरिएको शुल्क बच्चाको तौल जति देखाइएको छ । उत्तम नेपालका व्यङ्ग्यचित्रमा इन्टरटेरमेन्ट कलेजको परिकल्पना गरिएको छ, जहाँ ‘फ्री वाइफाइ’, ‘स्विमिङ पुल’, ‘स्मोकिङ जोन’ र ‘डेटिङ पार्क’को सुविधा छ ।
त्यस्तै कृष्णगोपाल श्रेष्ठले आफ्नो व्यङ्ग्यचित्रमा विद्यालय र उच्च माविबीचको खाडल पुर्न नसकिने गरी गहिरो भएको देखाएका छन् । उमेशचन्द्र अधिकारीको व्यङ्ग्यचित्रमा सरकारले सरकारी खुला विद्यालयलाई शैक्षिक परीक्षणका रुपमा प्रयोग गरिरहेको देखाइएको छ ।
त्यसैगरी सागर शाहले शिक्षामा धेरै लगानी गरिरहेको भए पनि परिणाम शून्य भएको जनाएका छन् । देवेन्द्र थुम्केलीको व्यङ्ग्यचित्रमा आफ्नै विद्यार्थीलाई ‘थेसिस’ बिक्री गर्ने प्राध्यापकलाई व्यङ्ग्यवाण हानिएको छ ।
प्रदर्शनीमा पुरानासँगै नयाँ व्यङ्य चित्रकारको जमघट देखिन्थ्यो । नयाँ पुरानालाई समान हैसियत दिइएमा यस क्षेत्रमा लाग्न चाहनेलाई थप हौसला प्राप्त हुने धेरैको बुझाइ छ । आयोजकमध्येका एएसडीका अध्यक्ष सुशील प्याकुरेल भन्नुहुन्छ, “त्ससका लागि शिक्षासम्बन्धी ‘कार्टुन’ र ‘कार्टुनिस्ट’लाई प्राथमिकतामा राखिएको हो ।”
व्यङ्ग्यकार वात्सायन पनि प्रदर्शनीको आयोजनाले ‘नयाँ पुस्ताले प्रतिभा देखाउने ठाउँ पाएको’ बताउनुहुन्छ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट भन्नुहुन्छ, “बिनाव्यङ्यचित्र पत्रकारिता नै अपुरो हुन्छ, किनकि यो अभिव्यक्ति स्वतन्त्रताको अभिन्न अङ्ग हो ।”
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय प्रतिष्ठानले व्यङ्ग्यकलालाई पनि प्राथमिकतामा राखेको जानकारी दिँदै भन्नुहुन्छ, “प्रतिष्ठानमा व्यङ्ग्यकला पनि समावेश गराएको छ, आगामी दिनमा यो क्षेत्रमा उचित पुरस्कार राखेर प्रतियोगिता गरिनेछ ।” शिक्षा पत्रकार समूहका अध्यक्ष सुदर्शन सिग्देलले प्रदर्शनी त्रिविलगायत शैक्षिक संस्था तथा मोफसलमा पनि आयोजना गरिने जानकारी दिनुहुन्छ ।रासस