खोटाङ, २४ भदौ ।
कर्मचारीको सुस्त कार्यसम्पादन र लापरवाहिका कारणले खोटाङको दिक्तेल नगरपालिका अव्यवस्थित बन्दै गएको छ ।
मापदण्ड विपरीत जथाभावी पेटीमा पसल, पार्किङ, टहरा, बिना स्वीकृति पक्की घर निर्माण, हिलाम्मे सडक र जताततै फोहरको डङ्गुर थुपार्नाले अव्यवस्थित बनेको हो ।
अव्यवस्थित नगरपालिका सुधारका लागि आफूहरुले पटकपटक समन्वय गरे पनि नगरपालिकाले चासो नदिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।
“नगरपालिकाका कर्मचारीको हेलचेक्र्याइँ तथा सुस्त कार्यसम्पादनले यस्तो समस्या भएको हो ।” उहाँले भन्नुभयो, “यसप्रति गम्भीर भएर नसोचिए नगरपालिकामा ठूलो दुर्घटना हुनसक्छ ।”
बजार क्षेत्रमा पार्किङ गरिएका गाडी तथा पसल तत्काल हटाइने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । “पहिलो चरणमा माइकिङ गरेर अनुरोध गरिन्छ ।” उहाँले भन्नुभयो, “विनम्रतापूर्वक गरिएको अनुरोधलाई स्थानीयले बेवास्ता गरेमा जबर्जस्ती हटाइने छ ।”
नगरपालिकाको मापदण्ड विपरीत स्थानीयले सडक छेउमा दर्जनौँ टहरा बनाएर विभिन्न व्यवसाय सञ्चालन गर्नाले समस्या देखिएको कार्यकारी अधिकृत नारायण ढकालले बताउनुभयो । “विभिन्न बहानामा घरटहरा बनाउँछन्,” उहाँले भन्नुभयो, “त्यति मात्र होइन पक्की घर निर्माण र तला थप्ने काम पनि स्वीकृति बिनै गरिएको छ, त्यसलाई कानुनी प्रक्रियामा ल्याउने तयारीमा हामी लागेका छौँ ।”
नगरपालिका क्षेत्रमा साँगुरो सडक भएकाले दमकल गुडाउन समेत समस्या भएको जनाइएको छ । नगरपालिकाले ल्याएको दमकल बजार क्षेत्रमै गुड्न नसक्दा हेर्नका लागि मात्र दमकल ल्याइएजस्तो भएको छ ।
बजार क्षेत्रका सबैजसो घरमा बार्दली भएकाले पनि सडक साँगुरो भएको र त्यसलाई हटाउन अनुरोध गर्दा सम्बन्धित घरधनीले बेवास्ता गर्दा दमकल सञ्चालनमा समस्या देखिएको हो । “नगरपालिकाभित्र अहिलेसम्म आगलागी भएको छैन,” ढकालले भन्नुभयो, “यदि कसैको घरमा आगलागी भए दमकल लैजान सक्ने अवस्था छैन ।”
नगरपालिकाभित्र खानेपानीको समेत समस्या देखिएको छ । नगरपालिकामा दुईवटा ठूला खानेपानी योजना सञ्चालनमा रहे पनि व्यवस्थित हुन सकेको छैन ।
नगरपालिकामा देखा परेको समस्यालाई चाँडै समाधान गर्ने पहल भइरहेको ढकालले बताउनुभयो । यसका साथै नगरपालिकाबाट निस्कने फोहर फाल्ने डम्पिङ साइटका बारेमा पनि पहल सुरु गरिएको ढकालको भनाइ छ ।
नगरपालिकालाई व्यवस्थित गर्न कर्मचारी अभावका कारण मापदण्डअनुसार काम गर्न नसकिएको ढकालले जानकारी दिनुभयो । “३३ जनाको दरबन्दी रहेको नगरपालिकामा अहिले १३ जना मात्र कार्यरत छौँ,” उहाँले भन्नुभयो, “त्यसले गर्दा पनि चाहेजति काम गर्न नसकिएको हो ।”
भौतिक संरचनाका साथै न्यूनतम पूर्वाधार पूरा नगरी नगरपालिका घोषणा गरिएकाले यस्तो समस्या आएको राप्रपा (नेपाल)का जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । “नगरपालिकावासीले यसको उपयोगिता महसुस गर्न पाएका छैनन्,” उहाँले भन्नुभयो, “यसप्रति सरकारले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ ।”