डोटी , १५ भाद्र ।
स्थानीय सरकारी संरचना डोटीको दिपायल सिलगढी नगर–पालीका राजनीतिक दलको भर्ती केन्द्र बनेको छ । भाद्र १० गते विहिबार मात्रै नेपाली काँग्रेसको पूर्ण दवावमा अमिन पदमा हिरेन्द्र बोगटीलाई नियुक्त गरिएको छ ।
श्रोतका अनुसार संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट समेत बोगटीलाई सिफारिस गरिएको पत्र रहेको बताईएको छ ।
बोगटीलाई ६ महिनाको करार सेवामा नियुक्त गर्न लागेको भन्ने थाहा पाएपछि नेकपा एमाले डोटीका जिल्ला नेता मञ्जु मलासी, सिद्धराज जोशी, एकिकृत माओवादी डोटीका जिल्ला नेता योगेन्द्र बोहरा, संघिय समाजवादी पार्टी फोरम नेपाल डोटीका जिल्ला नेता श्रीचन्द्र श्रेष्ठ नगरपालीकामा पुगेका थिए ।
ति नेताहरु दिउँस करिब साढे दुई बजेतिर नगरपालीकामा पुग्दा नगरपालीकाका कार्यकारी अधिकृत राज बहादुर शाहीको निवासमा सम्झौता भईरहेको र आफु त्यहाँ पुगेपछि सम्झौतामा हस्ताक्षर गर्न नपाएर रोकिएको एमाले नेता मञ्जु मलासीले बताईन् । उनले भनिन्–“हामी जाँदा कार्यकारी ज्यूको कोठामा गोप्य सम्झौता हुँदै थियो, हामीले रङ्गे हात फेला पारेपछि सम्झौता असफल भयो र कार्यकारी आफ्नो कार्यकक्ष कोठामा गएर हामीसँग गल्ती स्विकार गर्नुभयो ।”
कार्यालयभित्रै टिप्पणी उठाएर सम्झौता गर्न लागिएको भए पनि त्यस बेलासम्म सम्झौता भई नसकेको भन्दै नगरपालीकाका कार्यकारी अधिकृत शाहीले यस विषयमा सोचेर काम गर्ने बताएपछि तीन वटा दलका नेताहरु नगरपालीकाबाट बाहिरिएका थिए । उनीहरुले खुल्ला सूचना जारी गरेर प्रक्रियागत रुपमा कर्मचारी छनौट हुनुपर्ने बताएका थिए ।
त्यसको २÷३ मिनेट नबित्दै नेपाली काँगे्रस डोटीका कार्यवाहक सभापती रामप्रसाद उपाध्याय सहितको समूह नगरपालीकामा पुगेको थियो । काँग्रेस कार्यवाहक सभापती उपाध्यायले नपाका कार्यकारी अधिकृतलाई सम्झौतामा हस्ताक्षर गर्न दवाव दिए । उनले भने–“हाकिम साप, सम्झौतामा हस्ताक्षर ठोक्नुहोस्, मन्त्रालय पनि हाम्रो पार्टीको भागमा छ, तपाईंलाई परेको समस्या हामी फेस गरौंला ।” नेता उपाध्यायले थपे–“यसभन्दा पहिले एमालेको दवावमा नगरपालीकाका कर्मचारीको म्याद थपियो, हामी मौन बस्यौं, यो मौन समर्थन जस्तै थियो, यति बेला हाम्रो पनि पालो आएको छ ।”
जवाफमा कार्यकारी अधिकृत शाहीले “म अहिले निकै तनावमा छुँ, केहि समयपछि निर्णय गर्छु र म तपाईंलाई फोन गर्छु, अहिलेलाई तपाईं बाहिर गईदिनुहोस्” भनेपछि काँग्रेस कार्यवाहक सभापती उपाध्यायको समूह कार्यकारीको कार्यकक्षबाट बाहिरिएको थियो ।
सोहि समयमा नगरपालीकाका कार्यकारी अधिकृत शाहीले यसभन्दा पहिले एमाले डोटीको दवावमा केहि कर्मचारीको केहि समयदेखि रोकिएको नियुक्तीको म्याद नविकरण गरिएको हुँदा यस्तो समस्या आएको बताएका थिए ।
लगत्तै सोहि दिन नेपाली काँग्रेसको चर्काे दवावमा हिरेन्द्र बोगटी नामका व्यक्तिसँग अमिन पदका लागि सम्झौता भएर सोहि दिन भाद्र १० गते विहिबार बाटै उनको हाजिरी समेत भईसकेको छ । सम्झौता नियमसङ्गत नभएकाले खुल्ला विज्ञापन गरि पदपुर्ती गरिनुपर्ने माग सहित दिपायल सिलगढी न.पा. १३ उडितोलाका पुष्कर जोशीले शुक्रबार जिल्ला प्रशासनमा उजुरी दर्ता गराएका छन् ।
यस विषयमा नगरपालीकाका कानुनी सल्लाहकार दीपक बहादुर सिंहले सो अमिन पद स्विकृत दरबन्दी नभएको बताए । कर्मचारी भर्नाका लागि नगरबोर्डबाट पारित गराई सूचना सार्वजनिक गरेर कर्मचारी छनौट गरिनुपर्ने उनले बताए । “दरखास्त बिना नै कर्मचारी कसरी भर्ना गरिन्छ र अर्को कुरा अमिन पदका लागि नगरपालीकामा २ वटा निवेदन परेको भन्ने छ, सार्वजनिक सूचना बिना यो निवेदन नै कसरी पर्यो ?”उनको प्रतिप्रश्न छ ।
उनले थप भने–“यस विषयमा नगरापालीका कार्यालयले अहिलेसम्म आफुसँग सल्लाह लिएको पनि छैन भने पहिलो निवेदकलाई नियुक्त नगराई दोश्रो निवेदकलाई नियुक्ती दिएको विषय के हो मलाई थाहा भएन ।” साथै आफुलाई वि.सं. २०५४ मा निर्वाचित जनप्रतिनिधीको २०६९ असार १९ मा बसेको बैठकबाट कानुनी सल्लाहकारमा नियुक्त गरिएको र त्यसपछि कुनै लिखित निर्णय नगरि नगरपालीकाका निवर्तमान कार्यकारी अधिकृत तिलक खड्काले नियुक्ती नविकरण नगरेकोले आफुमाथी भएको अन्यायबारे एमालेले साथ दिएको सिंहले बताए ।
निर्वाचित जनप्रतिनिधीले नियुक्त गरेका कानुनी सल्लाहकारलाई एक कार्यकारी अधिकृतले नियुक्ती रद्द गर्न खोजेकाले न्यायका लागि एमालेले नगर–पालीकामा दवाव दिएको एमाले डोटीका पूर्व अध्यक्ष नारद मलासीले दावी गरे । मलासीले भने–“नगरपरिषदले कानुनी सल्लाहकार राख्नु आवश्यक छैन भन्ने निर्णय गरेमा कानुनी सल्लाहकार सिंहको नियुक्ती नविकरण नहुने हो, तर केहि व्यक्तिको पूर्वाग्रहका कारण निवर्तमान कार्यकारी अधिकृत तीलक खड्काले नविकरण रोके, उनीमाथि भएको अन्यायमा एमालेले नियम संगत दवाव दिएकै हो ।नेपाली काँग्रेसले यसमा एमालेले कर्मचारी भर्ना गरेकाले हामीले पनि भर्ना गर्यौं भन्नु हास्यास्पद कुरो हो ।”
नगरपालीकामा बिना सूचना अमिन भर्नाका गरिएको विषयमा जिल्ला प्रशासनमा उजुरी परेपछि अमिन भर्नाका आधारहरु सहित जवाफ माग गरिएको र आईतबार साँझसम्म जवाफ आईनसकेको डोटीका प्रमूख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले बताएका थिए । करार ऐन २०५६ र आर्थिक ऐन २०६४ अनुसार बोगटीलाई अमिनमा भर्ना गरिएको कार्यकारी अधिकृतले बताए ।
अमिन भर्नाका विषयमा भाद्र ११ गते शुक्रबार जिल्ला प्रशासन डोटीमा उजुरी दर्ता गराएका पुष्कर जोशीले नै थप प्रमाण सहित भाद्र १४ गते दोश्रो पटक उजुरी दर्ता गराएको बताएका छन्