काठमाडौ ११ भदौ । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी युरोपकै उत्कृष्ट फुटबलर घोषित भएका छन् ।
मेस्सीले रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र बार्साकै लुइस स्वारेजलाई पछि पार्दै सन् २०१४–१५ को युरोपको उत्कृष्ट फुटबलरको अवार्ड जितेका हुन् ।
बार्सालाई च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका मेस्सीले अघिल्लो सिजनका विजेता रोनाल्डोलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।
युइएफएमा आबद्ध भएका पत्रकारको मतका आधारमा उत्कृष्टको छनौट गरिएको थियो । गएराति मानाकोमा च्याम्पियन्स लिगको समुह चरणको ड्रको क्रममा उत्कृट फुटबलरको घोषणा गरिएको हो । चार पटकसम्म फिफा वर्ष खेलाडी भएका मेस्सीले गत सिजन सबै प्रतियोगितामा ५८ गोल गरेका थिए ।
मेस्सीले दोस्रो पटक यो अवार्ड जितेका हुन् । यसअघि उनले सन् २०११ मा अवार्ड जितेका थिए । अवार्ड लिएपछि बोल्दै मेस्सीले टिमका साथीहरुको साथ र सहयोगका कारण आफू युरोपको उत्कृष्ट खेलाडी बन्न सफल भएको बताए ।