काठमाडौं, भदौ ९ ।
युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको यस सिजनमा स्पेनका पाँच क्लब सहभागी हुने भएका छन । गएराती भएको ‘प्लेअफ’ खेलपछि फ्रान्सको मोनाकोलाई हराउँदै भ्यालेन्सिया प्रतियोगिताका लागि छनोट भएसँगै ५ स्पेनिस क्लबले पहिलोपटक च्याम्पियन्स लिग खेल्न लागेका हुन ।
भ्यालेन्सियाबाहेक बार्सिलोना, रियल मड्रिड, एथ्लेटिको मड्रिड र सेभियाले पनि च्याम्पियन्स लिगमा ठाउँ बनाएका छन् । च्याम्पियन्स लिग फुटबलमा एकै देशका ५ क्लबहरुले सहभागिता जनाउने अवसर पाएको यो पहिलोपटक हो ।
गयराति भएको ‘प्लेअफ’ खेलपछि स्कटल्यान्डको सेल्टिक भने बाहिरिएको छ । स्वीडेनको माल्मोविरुद्ध पहिलो लेगको खेल ३–२ ले जितेको सेल्टिक गयराति भएको दोस्रो लेगमा भने २–० ले पराजित भयो ।
च्याम्पियन्स लिग फुटबलका बाँकी ५ प्लेअफ खेलहरु आज राति हुदैछन । त्यसपछि विहीबार च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक गरिनेछ ।