धरान (सुनसरी), ८ भदौ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आई सियु बेडको अभाव भएसंगै बिरामीले सास्ती भोग्नुपरेको छ ।
घाटीमा हड्डी अड्किएका मोरङ दर्वेसाका ६१ बर्षीय रत्नबहादुर कार्कीको विराटनगरस्थित नोबल अस्पताल उपचार हुन नसकेपछि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याएको र एउटा पनि आइसियु बेड खाली नभएपछि यस्तो सास्ती भोग्नु परेको कार्कीका आफन्तले बताएका छन ।
अचेत अवस्थामा कार्कीलाई इएनटी वार्डमा लगियो तर त्यही उनका आफन्तजनहरुले हातैले अम्बु(कृत्रिम श्वासप्रश्वास दिने ) ब्याग मार्फत श्वासप्रश्वास दिइरहे पाईएको छ ।
अम्बुबाट श्वासप्रश्वास दिन सजिलो छैन । रातभरको अनिदो अनि तरिका पुर्याएर ब्यागलाई थिच्नुपर्ने हुन्छ साह्रो वा विस्तारी थिच्दा पनि केही होला कि भन्ने डर हुन्छ कार्कीको आफन्तको भनाई छ ।
बाह्र घण्टासम्म हामीले हातैले पम्प दिनुपर्यो’–त्यतिबेलाको क्षण सम्झदै कार्कीका ज्वाई सन्तोष खड्काले केही पो होला भनेर मन स्राहै आत्तियो भनेर सुनाउनुभयो ।
वृद्ध कार्की र उनका परिवारजन एक उदाहरण मात्रै हुन् । पुर्वकै ठुलो र नमुना स्वास्थ्य संस्था मानिएको बीपी प्रतिष्ठानमा आइसियु बेड अभावले सर्वसाधारणहरु यसरी नै छटपटिनु पर्छ ।
प्रतिष्ठान पुर्वका विभिन्न जिल्लाबाट विरामी रिफर भई आउने अस्पताल पनि हो । त्यस्ता विरामीहरु अधिकांश गम्भीर एवं सिकिस्त अवस्थाका हुन्छन् ।
विरामीहरुलाई तत्काल आइसियु चाहिन्छ । तर, प्रतिष्ठानमा सिमित संख्यामा आइसियु भएकोले विरामीले त्यो सेवा पाउदैनन् । विरामी कि रिफर भई विराटनगरको निजी अस्पताल वा भारत सिलगुडीतिर लैजानुपर्छ कि प्रतिष्ठानमै अम्बु ब्यागद्धारा कृत्रिम श्वासप्रश्वास दिदै राख्नुपर्छ ।
प्रतिष्ठानका अनुसार एनेस्थेसिया विभाग अन्र्तगत एक भिआईपी वेडसहित ९ वटा सघन उपचार कक्ष(आइसियु) बेड छ भने मेडिसिन विभागअन्र्तगत ४ वटा सिसियु बेड छ ।
प्रतिष्ठानमा विरामीको चाप यति हुन्छ कि एनेस्थेसिया विभागमा आइसियुको लागि दैनिक ३ वा ४ वटा कल आउछ ।
आइसियु वेड तत्काल खाली पनि हुदैन । कम्तीमा पनि एक जना विरामी दुई साता रहन्छन् भने गम्भीर प्रकृतिका विरामी महिनौंसम्म पनि राख्नुपर्ने हुन्छ ।
आइसियु वेडकै अभावले कतिपय शल्यक्रिया ‘पोष्टपोन’ पनि गर्नै गरेको एनेस्थेसिया विभागकी एडिस्नल प्रोफेसर डाक्टर कृष्णा पोख्रेलले बताउनुभयो ।
उहाका अनुसार कम्तीमा पनि १० वटा वेड थपिन आवश्यक छ । आइसियु अभावले प्रतिष्ठानबाट अन्यत्र रिफर हुनु पर्दा विरामीहरुले महंगो शुल्क तिर्नुपर्छ । प्रतिष्ठानको आइसियु सेवा नेपालकै सस्तो मानिन्छ । यहा“ एक दिनको दुई हजार पाँच सय मात्रै तिर्नुपर्ने पोख्र्लले बताउनुभयो ।
उता अस्पताल निर्देशक डाक्टर अरविन्द सिन्हाले भने आइसियु र सिसियु वेड संख्या आवश्यकता भन्दा ज्यादै कम भएको स्वीकार गर्दै प्रतिष्ठानले संख्या बढाउन सक्दो पहल गरिरहेको बताउनुभयो ।