काठमाण्डौ ,२ भदौ ।
नेपाल वायुसेवा निगमले १ सय ४८ जना नयाँ कर्मचारीका लागी दरखास्त दिन आह्वान गरेको म्याद बुधवार सकिदैछ ।
अहिलेसम्म करिब २८ हजारले दरखास्त फारम बुझाएको वायुसेवा निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बताउनु भयो ।
निगमले गत साउन १४ मा ४, ५ र ६ तहका लागि १ सय ४८ कर्मचारी पदपूर्ति गर्न २१ दिने सूचना सार्वजनिक गरेको थियो । बुधबार पछि परीक्षा दस्तुर दोब्बर तिरी एक सातासम्म फारम बुझाउन पाइन्छ।
निगले सहायक स्तरदेखि अधिकृत स्तरसम्म कर्मचारी पदपूर्ति गर्न लागेको हो । लोकसेवा आयोगको सिद्धान्तअनुसार लिखित र मौखिक परीक्षा लिइने निगमको भनाइ छ ।
प्रशासन अधिकृत तहमा २४ जना, वरिष्ठ सहायकमा १८, सहायक ५६, लेखा अधिकृत २३, वरिष्ठ लेखा सहायक ६ र लेखा सहायकमा २१ गरी १ सय ४८ जना पदपूर्ति गरिने छ ।
अधिकृत तहमा दरखास्त बुझाउन स्नातक वा सो सरहको शैक्षिक योग्यता, वरिष्ठ सहायक र सहायकका लागि प्रमाणपत्र वा सो सरह तथा सहायक पदका लागि एसएलसी शैक्षिक योग्यता तोकिएको छ।
अन्य सरकारी संस्थानभन्दा वायुसेवा निगममा जागीरमा आकर्षण बढी हुने गरेको छ। यहाँका कर्मचारीले निगम जाने राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गन्तव्यका लागि वर्षे्नि निःशुल्क हवाई टिकट पाउने गरेका छन्। यस्तो सुविधा कर्मचारीका परिवारले समेत पाउने गरेका छन्।
निगमले आन्तरिकतर्फ मुलुकका साढे दुई दर्जनभन्दा बढी गन्तव्य तथा अन्तर्रा्ष्ट्रियतर्फ भारतको नयाँदिल्ली, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, कतारको दोहा र हङकङ उडान गरिरहेको छ ।
निगमले भदौ १५ बाट भारतकै बैंगलोर र मुम्बई उडान गर्ने घोषणा गरिसकेको छ भने निकट भविष्यमा चीनको ग्वाङझाउ उडान गर्ने तयारी गरिरहेको छ।
आन्तरिक उडानका लागि निगमले दुईवटा चिनियाँ जहाज र एउटा ट्विनअटर तथा अन्तर्रा्ष्ट्रियतर्फ दुईथान बोइङ र दुईथान एयरबस सञ्चालनमा छन्। चाँडै नै ३ सय सिटसम्मका ठूला आकार (वाइड बडी) जहाज खरिद गर्ने योजना पनि निगमले बनाएको छ।
निगमले दरखास्त फारम खरिद गर्न १ सय रुपैयाँ तोकेको छ। दरखास्त बुझाउन अधिकृत तहका लागि ७ सय रुपैयाँ तथा थप प्रत्येक समूह (खुला, महिला, आदिवासीरजनजाती, मधेशी, दलित र अपांग) लाई ३ सय ५० रुपैयाँ लाग्छ। त्यसैगरी वरिष्ठ सहायक र सहायकलाई फारम बुझाउँदा ५ सय रुपैयाँ र प्रत्येक थप समूहका लागि २ सय ५० रुपैयाँ तोकिएको छ।
हाल निगममा करिब १ हजार ३ सय कर्मचारी कार्यरत छन्।