काठमाडौं , २८ साउन ।
गत शिुक्रबारदेखी कर्मचारी आन्दोलनका कारण ठप्प भएको माछापुच्छ्रे बकैं आजदेखी खुल्ने भएको छ ।
कर्मचारीको हकहितको लागि युनियन स्थापना गर्न खोज्दा ४६ जना कर्मचारीलाई पूर्वाग्रह राखेर सरुवा गरिएको भन्दै बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए ।
आन्दोलन नरोकिएपनि ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै यस क्षेत्रका सबै शाखा कार्यालयबाट बिहीबारदेखी हातमा कालोपट्टी बाँधेर काम सुरु गरिने माछापुच्छ्रे बैंक युनियन कर्मचारी तदर्थ समितिका संयोजक विकास श्रेष्ठले जानकारी दिनुभयो ।
सेवा सुरु गरेपनि बैंक व्यवस्थापन पक्ष आफुहरुका मागका सन्दर्भमा गम्भिर नभएकाले आन्दोलन भने जारी रहने समितिले जनाएको छ ।
आजदेखी पोखराको नयाँबजारमा रहेको प्रधान कार्यालय सहित, न्यूरोड, बगर, लेकसाईड, रामबजार र लेखनाथ गरी ६ वटै कार्यालयबाट सेवा सुरु हुनेछ । गत शुक्रबारदेखी नै यी सबै शाखाहरुको कारोबार प्रभावित भएको थियो ।
बैंक बन्द हुँदा औसतमा दैनिक एउटा कार्यालयबाट करिब ५ सय सेवाग्राही फर्किने गरेका थिए । बैंकले एकैपटक देशभरीबाट ४६ जना कर्मचारीको सरुवा गरेको थियो ।
देशभरी ६ सय जना कर्मचारी कार्यरत रहेकोमा ४० प्रतिशत कर्मचारी युनियन स्थापना गर्ने पक्षमा रहेको माछापुच्छ्रे बैंक युनियन कर्मचारी तदर्थ समितिका संयोजक श्रेष्ठले बताउनुभयो ।
उहाले सरुवाको निर्णय तत्काल खारेज गरी कर्मचारी युनियन गठन गर्ने वातावरण मिलाए आन्दोलन रोक्ने बताउनु भएको छ ।
यता बैंकले भने आन्दोलन गरेर बैंकको छवि नबिगार्न कर्मचारीहरुलाई आग्रह गरेको छ । कर्मचारी सरुवाको निर्णय परिर्वतन नहुनेसमेत बैंकले जनाएको छ ।