एजेन्सीं, २६ साउन ।
विश्व फुटबल महासंघ फिफाको अध्यक्ष पदका उम्मेदवार जोर्डनका राजकुमार अली हुसेनले सेप ब्लाटरको पूर्ण बहिर्गमन र स्वतन्त्र छानविन निकाय गठन नभएसम्म फिफामा सुधार हुनै नसक्ने दाबी गरेका छन् ।
फिफामा सुधारका लागि स्वतन्त्र निकाय गठन गर्न माग गर्दै उनले स्विट्जरल्याण्डको ज्युरीचमा समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै सेप ब्लाटरको पूर्ण बहिर्गमन हुनुपर्ने बताए ।
आगामी फेब्रुअरी २६ तारिखमा फिफाको नयाँ नेतृत्व चयनका लागि चुनाव हुँदैछ । सो अघि नै ब्लाटर पूर्णरुपमा फिफाबाट हट्नुपर्ने अध्यक्षका दावेदारहरुको माग छ ।
यसअघि पनि ब्लाटर विरुद्ध चुनावी मैदानमा उत्रिएका राजकुमार अली हुसेनसँगै यसपटक युरोपेली फुटबल महासंघ युएफाका अध्यक्ष मिचेल प्लाटिनी पनि उम्मेदवार छन् । प्लाटिनीले अबको चुनाव जित्ने धेरैको अनुमान छ ।
आर्थिक अनियमितता, सम्पत्ती सुद्धीकरण एवम् अपारदर्शी निर्णय प्रक्रियाका कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफा अहिले इतिहाँसकै सबैभन्दा आलोचित अवस्थामा छ ।
यस्तोमा आफूले पद त्याग गरेर नयाँ नेतृत्व चयन गर्ने घोषणा अध्यक्ष सेप ब्लाटरले गरे पनि उनका समकक्षीहरु भने अझै पनि सशंकित छन् ।