काठमाडौं, श्रावण २४ ।
मलेशियामा आज ब्याट फर नेपाल क्रिकेट हुदैछ । नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने उदेश्यले मलेसिया क्रिकेट संघले प्रतियोगिता आयोजना गरेको हो ।
मलेसियाको क्वालालम्पुरस्थित किन्रारा ओभल मैदानमा नेपाली समय अनुसार दिउासो सवा १२ बजे शुरु हुने खेलमा नेपाल–एघारको कप्तानी पारस खड्काले गर्नेछन् ।
यसैगरी विश्व–एघारको नेतृत्व श्रीलंकाका पूर्व खेलाडी सनथ जयसुर्याले गर्नेछन् । जयसूर्याको टोलीमा पाकिस्तानका पूर्व विकेट किपर रसिद लतिफ, भारतका भेनुगोपाल रावो, अष्ट्रेलियाका स्टिभ ओकिफ, बंगलादेशका अब्दुल रज्जाक, अनिमुल ईस्लामलगायतले प्रतिस्पर्धा गर्दैछन् ।
यसैगरी नेपाली टोलीमा कप्तान पारससागै शरद भेषावकर, शक्ति गौचन, महबुल आलम, नरेश बुढाऐर, सोमपाल कामी, राजेश पुलामी, अनिल मण्डल, सिद्धान्त लोहनी, राजु रिजाल, अविनाश कर्ण, भुवन कार्की र करण केसी छन् ।
अन्डर–नाइन्टिन राष्ट्रिय टोलीका कप्तान समेत रहेका राजु रिजालले नेपाली टोलीको विकेट किपिङ गर्नेछन् । यो खेलबाट उठेको रकम नेपालका भूकम्पपीडितको लागि सहयोग गरिनेछ । खेलमा टसको लागि प्रयोग गरिने सिक्का समेत लिलामीमा राखिने बताइएको छ ।