दाङ, १७ साउन ।
दाङको लक्ष्मिपुर गाविसमा रहेको उच्च मावि डाँडागाँउ गोग्लीमा अध्ययन गर्ने विद्यार्थीहरुलाई वर्षायाममा विद्यालय पुग्न समस्या हुने गरेको छ ।
विद्यालयमा अध्ययन गर्न जाने लक्ष्मीपुर गाविस तथा घोराही नगरपालिकाका विभिन्न वडाका विद्यार्थीहरुलाई सडक नहुदा खोला, कुलो र खेतको आलिबाट विद्यालय पुग्नुपर्ने वाध्यता छ ।
लक्ष्मीपुर गाविसका डाडाँगाँउ, वसन्तापुर, चुक्लीपाटा, गुरुवाघारी र घोराही नगरपालिकाको भैसाही र वेलभारका विद्यार्थीहरुलाई विद्यालयसम्म पुग्न खेतको आली, दर्जनौ कुलो पार गर्नुपर्ने वाध्यता छ ।
भरपर्दो वाटो र सडक अभावमा वर्षायाममा विद्यार्थीहरुले जोखिम मोलेर खोला तथा कुलो तर्ने गरेको त्यहाँबाट समाचार सहयोगी मिलन पोख्रेलले जानकारी दिएका छन् ।
वर्षायाममा विद्यालय सम्म पुग्न विभिन्न समस्या रहेकोले विद्यार्थीको संख्या केही घट्ने गरेको विद्यालयका शिक्षक युवराज अधिकारीले वताए ।
बर्षायाममा बिद्यालय पठाउन नसकिने भएपछि आफ्नो छोरालाई अनेत्र स्कुलमा भर्ना गर्न वाध्य भएको स्थानीय दुर्गा श्रेष्ठले बताए ।