एजेन्सी,१७ साउन ।
श्रीलंकाविरुद्धको दोस्रो टी २० क्रिकेटमा पाकिस्तान एक विकेटले बिजयी भएको छ । योसंगै पाकिस्तानले दुई टी(२० म्याचको सिरिज २ – ० ले जितेको छ ।
टी २० मा एक विकेटको जित पाकिस्तानको पहिलो जित हो । यसअघि २०११ मा इंग्ल्याण्डले अष्ट्रेलियामाथि र २०१२ मा नेदरल्याण्डसले बंगलादेशविरुद्ध १ विकेटको जित हात पारेको थियो ।
श्रीलंकाले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पाकिस्ताने अन्तिम चार बल खेल्नु अघि ९ विकेट गुमाएर भेट्टायो । शाहिद अफ्रिदीले मोहम्मद रिजवानसँग छैटौं विकेटका लागि ६१ रनको साझेदारी गरे । रिजवान १७ रनमा आउट भएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि कमारा कपुगेदेराले अविजित ४८ रन बनाए भने शेहन जयसूर्याले ४० रन जोडे । पाकिस्तानका शेएब मल्लिकले २ विकेट लिएका थिए ।