काठमाण्डौ,११ साउन ।
सिम्रिक एयरले तीनवटा नयाँ हेलिकम्पटर खरिद गर्ने भएको छ । सिम्रिकले एयरबसद्धारा निर्मित दुईवटा अत्याधुनिक प्रविधियुक्त एच १३० इसी १३० र एउटा एच१२५ एएस ३५० बी३ई मोडल खरिद गर्ने सिम्रिक एयरका अध्यक्ष क्या. रामेश्वर थापाले जानकारी दिनुभयो ।
त्यसका लागि एयरबस हेलिकप्टर्स कम्पनी सिंगापुरसँग सम्झौता भएको थापाले बताउनु भयो । सम्झौता अनुसार एच(१२५ एक महिनाभित्र नेपाल आइपुग्ने सिम्रिक एयरले जनाएको छ । त्यस्तै, एच १३० मोडलको पहिलो हेलिकम्टर ६ महिना र दोस्रो ९ महिनाभित्र सिम्रिक एयरलाई हस्तान्तरण गरिने भएको छ ।
तीनवटै हेलिकप्टर उच्च हिमाली दृश्यावलोकन, राहत तथा उद्धार एवं विकाश निर्माणको काममा बढी उपयोग हुने विश्वास सिम्रिक एयरले लिएको छ । सिम्रिकले खरिद गर्न लागेको एच १३० हेलिकप्टर नेपालमा पहिलो पटक भित्रिन लागेको अत्याधुनिक हेलिकप्टर हो ।
यी हेलिकप्टरहरु मार्फत सिम्रिक एयरले स्वदेशी तथा विदेशी यात्रुलाई हेलिकप्टर यात्रा, धार्मिकस्थल दर्शन, पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण, उच्च हिमाली पर्वतीय दृश्यावलोकन, विकाश निर्माण समाग्री ढुवानी, हेलिस्की, पुष्पवृष्टि, फोटोग्राफी, फिल्मीङ्ग तथा उच्च हिमाली भेगमा राहत तथा उद्धार कार्यमा लगाउने कम्पनीले जनाएको छ ।