काठमाडौं, ९ साउन ।
वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेल झण्डै तीन महिना क्रिकेट नखेल्ने भएका छन् । पिठ्युँको लामो समयदेखि रहेको समस्या समाधानका लागि शल्यक्रिया गर्ने तयारी भैरेकाले आफू आउँदो अगस्टपछि दुईदेखि तीन महिना क्रिकेट खेलबाट बाहिर रहेने गेलले बताएका हुन् ।
क्यारबियन प्रिमिर लिगको खेलपछि बोल्दै गेलले भने ‘अगस्त दुईमा एक च्यारिटी खेल खेलेपछि म दुईदेखि तीन महिनाका लागि क्रिकेटबाट बाहिर हुनेछु । मैले मेरो पिठ्युँको समस्या समाधानका लागि शल्यक्रिया गर्ने तयारी गरेको छु ।
डिसेम्बरदेखि म फेरि खेलमा फर्कने छु । तपाईहरु सबैले मेरो शल्यक्रिया र त्यसपछि अहिलेको भन्दा पनि राम्रो भएर खेलमा फर्कन सकुँ भनेर प्राथना गर्नुहुन अनुरोध पनि गर्दछु ।’
गेलले गएको फेब्रुअरी १४ देखि २९ मार्चसम्म अस्ट्रेलिया र न्युजिल्याण्डमा भएको विश्वकप क्रिकेटको बेलैदेखि पिठ्युँको समस्या झेल्दै आएका छन् । विश्ककपको न्युजिल्याड विरुद्धको क्वाटर फाइनल खेल गेलले दुखाइ कम गर्ने इन्जेक्सन लगाएर खेलेका थिए ।