काठमाडौं, ७ साउन ।
नेपाल राष्ट्र बैंकले नयाँ बजेटमा उल्लेख भएका आर्थिक क्षेत्र सम्बन्धी विषय र देशको समग्र मौद्रिक क्षेत्रलाई समेट्ने गरी मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
हिजो तीन घन्टा चलेको संचालक समिति बैठकले मूल्यवृद्धि साढे ८ प्रतिशतमा राख्ने लक्ष्यसहित ठूलो नीतिगत परिवर्तन नगरी मौद्रिक नीतिलाई अन्तिम रुप दिएको छ ।
स्रोतका अनुसार आज विहान बस्ने संचालक समितिको बैठकले मौद्रिक नीतिलाई अनुमोदन गरेपछि दिउँसो सार्वजनिक गरिनेछ ।
भूकम्पपछिको अवस्थाका विषयमा बजेटसँग तालमेल मिलाउने गरी मौद्रिक नीति सार्वजनिक गरिनेछ । तरलता व्यवस्थापन, अनिवार्य नगद मौज्दातको सीमा, वित्तीय क्षेत्रमा पहुँच, बैंक तथा वित्तीय संस्थाको स्थापना, सञ्चालन, गाभ्ने र गाभिने, किन्ने र किनिने, शेयर धितो कर्जालगायतका विषय समेट्ने गरी मौद्रिक नीति ल्याउने तयारी भएको राष्ट्र बैंकले जनाएको छ ।
मौद्रिक नीतिमा बैंकको पुँजी वृद्धिको योजनालाई पनि समेटिएको छ ।