काठमाडौं, २ साउन । ट्वेन्टी २० विश्वकप छनौट प्रतियोगिता अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले आज जर्सीसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार आज दिउँसो पौने ३ बजेपछि आयरल्याण्डको डबलिनमा सुरु हुनेछ ।
हिजो भएको खेलमा पपुवा न्युगिनीसँग ८ विकेटको लजास्पद हार बेहोरेपछि विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको नेपाल आज जर्सी विरुद्धको खेलमा आफ्नो प्रदर्शन सुधार गर्ने लक्ष्य सहित मैदान उत्रदैछ ।
पाँच खेल खेलेको बाट नेपाल ३ अंक सहित समुह ए को पाँचौं स्थानमा छ ।
नेपालले आज जर्सी विरुद्धको खेलमा राम्रो रनरेटको जित निकालेको खण्डमा तथा नामिबिया र हङकङमध्ये एकले आफ्ना बाँकी दुई खेलमा हार बेहोरेको अवस्थामा मात्रै नेपालले प्लेअफ खेल्न पाउने सम्भावना रहनेछ ।
तेस्रो स्थानमा रहेको नामिबियाको चार खेलबाट पाँच तथा चौंथो स्थानमा रहेको हङकङको पनि समान चार खेलबाट पाँच अंक नै छ । नामिबियाले अब पपुवा न्युगिनी र हङकङ तथा हङकङले युएई र नामिबियासँग खेल्न बाँकी छ ।