ताप्लेजुङ ,३१ असार ।
जिल्ला विकास समिति ताप्लेजुङको सभाहलमा आज गरिएको सार्वजानिक सुनुवाईमा जिविस अन्र्तगत कुल चालु तथा पूँजीगत खर्चको ६ करोड ४३ लाख २ हजार एकसय पैँतालिस रुपैयाँ रकम फ्रीज भएको सार्वजानिक गरिएको छ ।
सार्वजानिक सुनुवाईमा बोल्दै सम्पूर्ण सहभागी राजनीतिक दलका प्रतिनिधीले यतिका ठूलो विकासीय रकम फ्रीज हुनु ठीक नभएको बताए ।
आगामी वर्ष समयमा नै सम्झौता गरी बजेट निकासा गरी कामलाई चुस्त दुरुस्त बनाउनु पर्नेमा जोड दिएका थिए ।
सार्वजानिक आर्थिक लेखा परीक्षणमा प्रमुख अतिथि रहेका सभासद डम्बरध्वज तुम्बाहाङ्फेले यतिका ठूलो रकम फ्रीज हुनुमा राज्यको नीति ठीक नभएको जसका कारण समयमा बजेट निकासा नहुनु, स्थानीय स्तरमा छिटो उपभोक्ता समिति गठन नहुनु र राजनीतिक पहुँचको आधारमा उपभोक्ता समिति गठन गर्नु लगायतका क्रियाकलापका कारण वर्षेनी रकम फ्रीज हुने औँल्यानु भएको थियो ।
फरक प्रसंगमा निर्वाचन क्षेत्र विकास कोषको केहि रकम फ्रीज हुनुको पछाडि गत बैशाक २७गते ताप्लेजुङको पश्चिमी गाविसमा आएको बाढिपछिको पहिरो मुख्य कारण भएको बताउनुभयो ।
जिल्लामा सक्रिय राजनीतिक दल, विभिन्न सरोकारवाला निकाय, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनीधि, नागरिक समाज, बुद्धिजिवी र संचारकर्मीको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई समापनगर्दै स्थानीय विकास अधिकारी उमेश पाण्डेले आगामी वर्ष समयमा नै बजेट निकासाको लागि महलकदमी गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।