कामपाको बजेट ४ अर्ब ६ करोड

कामपाको बजेट ४ अर्ब ६ करोड

  • बिहिबार, असार ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७२/७३ का लागि कुल विनियोजित रकममध्ये २ अर्ब ८८ करोड रुपैयाँ पुँजीगत तथा चालूतर्फ १ अर्ब १८ करोड रुपैयाँ छुट्ट्याएको छ ।

महानगरपालिकाका कार्यकारी प्रमुख रुद्धसिंह तामाङले ४ अर्ब ६ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । आन्तरिक आयबाट १ अर्ब ५९ करोड रुपैयाँ प्राप्त हुने महानगरको अनुमान छ ।

भूकम्पीय जोखिममा रहेका पुराना घना सहरी क्षेत्रमा सरकारको सहकार्यमा संयुक्त आवास योजना लागू गरी तत्काल कार्य सुरु गर्न १ करोड रुपैयाँ छुट्ट्याइएकोे छ ।

चालू आवका लागि विनियोजित ३ अर्ब ९८ करोड ३५ लाख रुपैयाँमध्ये ११ महिनामा १ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ ।
यसैगरी सोही अवधिमा आयतर्फ ३ अर्ब ९८ करोड र ३५ लाख रुपैयाँ अनुमान गरिएकोमा १ अर्ब ७९ करोड ९५ लाख रुपैयाँ मात्र संकलन भएको छ ।

महानगरले सुरक्षित संरचना निर्माणलाई पहिलो प्राथमिकता दिएको छ । आवधिक योजना बनाइ सार्वजनिक सम्पदा र संरचनाहरुको पुनर्निर्माणलाई तीव्रता दिइने, महानगरलाई आधुनिक एवं सुविधासम्पन्न सहरको रूपमा स्थापित गर्न उन्नत योजनाहरु कार्यान्वयनमा ल्याइने उल्लेख छ ।

महानगरको बागदरबारस्थित कार्यालय भवनको ऐतिहासिक महत्व कायम राखी आधुनिक ढंगमा निर्माण गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

हनुमानढोका दरबार क्षेत्रमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माण र पुनःस्थापना कार्य गर्न आवश्यक रकमको व्यवस्था गरेको महानगरले जनाएको छ ।

रत्नपार्क, रानीपोखरी र बालाजु उद्यानको संरक्षण र सदुपयोग गरी यी क्षेत्रहरुलाई आम्दानीको भरपर्दो स्रोतका रूपमा विकास गर्ने योजनासहित ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । सार्वजनिक यातायातलाई सुलभ र भरपर्दो बनाउन साझा यातायातसँग सहकार्य गरी लगानी गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

महानगरपालिका क्षेत्रभित्र उपयुक्त स्थान पहिचान गरी सार्वजनिक निजी साझेदारी अवधारणाअनुरूप सहरी सेवा केन्द्रहरु निर्माण गरी सञ्चलानमा ल्याइने बताइएको छ ।

महानगर क्षेत्रभित्र भएका खाद्य, पेय तथा सूर्तीजन्य पदार्थ उत्पादक तथा वितरक कम्पनीहरुबाट निस्कने पानपराग, गुट्का, चाउचाउ, तेल, दुग्ध तथा पेय पदार्थ (ट्रेटा प्याकेट) का खोल तथा पेयर तथा मदिराजन्य वस्तुका बोतलहरुको व्यवस्थापन गर्नका लागि फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा १८ बमोजिम फोहोरमैला व्यवस्थापन सेवा शुल्क लगाउने निर्णय गरिएको छ ।

महानगर क्षेत्रभित्र बिक्री वितरण हुने विद्युतीय सामानजन्य फोहोरमैला व्यवस्थापन गर्न त्यस्तो सामान उत्पादन र बिक्री वितरण उद्योग, कम्पनी तथा डिलरबाट पनि शुल्क लिने जनाईएको छ ।

गत पुसमा पारित बजेट, योजना तथा कार्यक्रममा केही संशोधन गरी आर्थिक वर्षको बजेट, योजना तथा कार्यक्रम तर्जुमा गरिएको भन्दै तामाङले विनाशकारी भूकम्पले निम्त्याएको विपद्लाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरेको बताउनु भयो ।
महानगरको आर्थिक, सामाजिक, भौतिक विकासको क्रमलाई निरन्तरतासँगै भूकम्पको कारण भएका क्षतिहरुलाई पूर्ति गर्न पुनर्निर्माण तथा पुनःस्थापनाका योजनासहित आगामी वर्षका लागि बजेट ल्याइएको उहाको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी