काठमाडौं, २३ असार । अष्ट्रेलिया र इंग्ल्यान्डबीचको बहुचर्चित एसेस क्रिकेट श्रृंखला आज देखि सुरु हुँदैछ ।
पाँच म्याचको टेस्ट श्रृंखला अन्तरगतको पहिलो खेल आज ब्रिटेनको वेल्सको कार्डिफमा हुनेछ ।
पहिलो टेस्ट सुरु हुनुपूर्व दुबै टोलीका कप्तानहरुले जित आफ्नो पक्षमा हुने दाबी गरेका छन् । १० वर्षअघि आफ्नै मैदानमा भएको एसेस श्रृंखला इंग्ल्यान्डले कब्जा गरेको थियो ।
तर अहिले टोलीका सबैभन्दा महत्वपूर्ण खेलाडी केभिन पिटरसनको अप्रत्याशित बहिर्गमनपछि परिवर्तन भएको इंग्लिस टोली निकै दबाबमा देखिएका छन् ।
उता, अष्ट्रेलियन टोलीका कप्तान माइकल क्लार्कले पनि आफ्नो टोली उपाधि जित्न सक्षम रहेको बताएका छन् । सन् २००५ को एसेस टोलीबाट हालसम्म अष्ट्रेलियन टोलीमा रहेका एकमात्र सदस्य क्लार्कले एसेसको गर्बिलो इतिहासबाट खेलाडीहरु उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
यस पटकको एसेस श्रृंखलामा अष्ट्रेलिया र इंग्ल्यान्डले ५ टेस्ट म्याच, एक ट्वेन्टी–२० तथा ५ एक दिवसीय खेल खेल्नेछन् ।