अछाम, २१ असार ।
आईतवार बेलुका आएको मुसलधारे वर्षाका कारण अछाम सदरमुकाम मंगलसेनका बिभिन्न स्थानमा ठुलो क्षती गरेको छ । वर्षासंगै आएको बाढिका कारण मंगलसेन क्याम्पस चोकमा रहेको श्रृष्टि पुस्तक पसलमा करिव ३५ लाख बढीको नोक्सानी भएको छ ।
अस्पतालदेखी सडकै सडक भएर आएको भेल पुस्तक पसल र गोदाममा पस्दा स्टेसनरी सामग्रिका साथसाथै अन्य सरसामानमा क्षती भएको हो । पसलको २ वटा सटरको सामानमा क्षती भएको छ, भने गोदाम बनाई राखिएको ४ वटा कोठाको स्टेसनरी सामग्रि पनि पूर्ण रुपमा भिजेर काम नलाग्ने भएको हो ।
अस्पतालदेखी क्याम्पस चोक सम्मको सडक स्तरोन्नती गर्नका लागि डोजर लगाईएकोले डोजरले खनेको माटो बगाएर उक्त पुस्तक पसलमा क्षती भएको हो । पसलमा रहेका बिभिन्न प्रकाशनका पाठ्यपुस्तक, निजि बिद्यालयका पुस्तकहरु र अन्य शैक्षीक सामग्रिहरु भिजेर काम नलाग्ने भएका छन ।
बाढीका कारण पुस्तक पसलका साथै उक्त घरमा रहेको रामारोशन दैनीकको कार्यालयमा पनि झण्डै एक लाख पचास हजार बरावरको क्षती गरेको छ । बाढीका कारण ९५ हजार पर्ने प्रिन्टर र कम्प्यूटर काम नलाग्ने भएका छन ।
यस्तै उक्त स्थानमा पसेको बाढीले गर्दा स्थानिय डण्डि बिश्वकर्माको घर नजिकै रहेको ढल निमासी गर्ने नाली भत्किएर बारीमा ढुंगामुढा थुप्रियका छन । यस्तै पानी परेमा घर समेत जोखीममा रहेको उनले बताए ।
यता मुसलधारे पानी परेपछि बैरागीधारा नजिक रहेको पि आर एस डिसीको कार्यालयमा पानी पस्दा कामकाजमा समस्या भएको छ । अफिसमा पानी पसेर हिलो जम्मा भएपछि आफुहरुलाई काम गर्न नसकिने अवस्था रहेको उक्त संस्थाका हर्क खड्काले बताए ।
आईतवार बेलुकीको मुसलधारे पानीले जिल्लाका अधिकाँश ग्रामिण सडकहरु बिच सडकवाट चिरिएर यातायात सेवा समेत अवरुद्ध भएको छ ।

