एजेन्सी, २१ असार । फिफा महिला बिश्वकप फुटबल प्रतियोगिताको उपाधि अमेरिकाले जितेको छ ।
क्यानाडाको बिसी प्यालेस रंगशालामा आज बिहान भएको फाइनल खेलमा साविक विजेता जापानलाई ५–२ ले पराजित गर्दै अमेरिकाले उपाधि कब्जा गरेको हो ।
खेलको पहिलो हाफमै ४–१ को अग्रता लिएको अमेरिकाले दोस्रो हाफमा एक गोल थप्यो । अमेरीकाको लागि कार्ली लोएडले ह्याट्रिक गरीन् भने लउरेन होलीडे र टोबीन हिथले एक एक गोल थपे ।
पराजित टोली जापानका लागि युकी ओगीमीले एक गोल गरिन् भने अमेरिकाकै जुली जोन्स्टनले एक आत्माघाती गोल गरेका थिए ।
जितसँगै अमेरिकाले सन् २०११ मा महिला विश्वकपको फाइनलमा जापानसँग भोगेको हारको बदला लिएको छ ।
अमेरिकाको लागि यो उपाधि महिला विश्वकप फुटबलको तेस्रो उपाधि हो ।
अमेरिकाले यसअघि सन् १९९१ र १९९९ मा पनि महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।