खोटाङको खानीडाँडा विमानस्थलबाट आजदेखि नियमित उडान सुरु भएको छ ।
सदरमुकामबाट सबैभन्दा नजिक रहेको मनमाया राई खानीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम सकिएपछि आजबाट तारा एयर र सिम्रिक एयरले नियमित उडान भरेका हुन ।
विमानस्थलबाट गत मंगलबार मात्र तारा एयरको विमानले परीक्षण उडान भरेको थियो । तारा र सिम्रिक एयरले खानीडाँडा विमानस्थलबाट नियमित उडानका लागि तालिका सार्वजनिक गरेको विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनु भयो ।
घिमिरेका अनुसार तारा एयरले हरेक मंगलबार र शनिबार तथा सिम्रिक एयरले हरेक बिहीबार उडान भर्नेछ ।
नेपाल एयरलाइन्सले भने हालसम्म उडान तालिका सार्वजनिक नगरेको तर चाँडै नियमित उडान भर्ने तयारीमा रहेको अध्यक्ष घिमिरको भनाई छ । खोटाङवासीको पहलमा निर्माण गरिएको विमानस्थलमा कालोपत्रे सुरु गरिएपछि गत माघदेखि उडान बन्द गरिएको थियो ।