१५ असार, काठमाडौ।
त्रिभुवन विश्वविद्यालयको एउटै विभागमा रहेका समाजशास्त्र र मानवशास्त्र विषय अबदेखि छुट्टाछुट्टै विभागमा रहने भएका छन । यी दुई विषयलाई छुट्टाछुट्टै विभागमा राख्न आवश्यक छ की छैन भन्नेबारेमा अध्ययन गर्न गठित कार्यदलले विभाग छुट्याउन सुझाव दिएपछि विभाग फुट्ने भएको हो ।
कार्यदलका सदस्य डा. चिरञ्जीवी एकै विभागमा राख्दा विषयगत प्राज्ञिक उन्नतीका लागि बाधा पुगेको सबैको ठहर रहेकाले छुट्याउनुपर्ने सिफारिस सहितको प्रतिवेदन विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेलाई दिएको बताउनु भयो ।
समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख डा. ओम गुरुङले पनि कार्यदलले पेस गरेको प्रतिवेदन अब कार्यकारिणी सभाबाट पारित भएर कार्यान्वयन हुने बताउनु भयो । विद्या परिषद्ले पारित गरेपछि सुझाव सङ्कलन तथा अध्ययनका लागि प्राध्यापक लयप्रसाद उप्रेतीको संयोजकत्वमा कार्यदल बनाइएको हो ।
एक हप्ताको समय पाएर गठन भएको कार्यदलले यही असार ६ गते प्रतिवेदन बुझाएको कार्यदलका सदस्य डा. आचार्यले जानकारी दिनु भयो । विद्यार्थी र प्राध्यापकको असन्तुलनका कारण पनि विभाग छुट्याउन दबाब परिरहेको कार्यदलका सदस्यको भनाइ छ ।