‘कल्पना आङवुहाङ ‘ सात समुन्द्रपारी पुगेर पनि हरदम आफ्नै मातृभूमीको याद गर्ने र बिभिन्न समाजसेवीका काममा समेत पहिचान बनाएकी गीतकार हुन् । ताप्लेजुङ जिल्लाको हाङपाङमा जन्मिएकी आङवुहाङ लामो समयदेखि बिदेशमा रहेर विशेषत गीत लेखनमा सक्रिय छिन्। सानैदेखि स्कुलमा पढ्दा साहित्यसँग लुकामारी गर्थिन्। जुनवेला उनलाई साहित्य के हो भन्ने पनि थाहा थिएन तर उमेर हुर्कदै गर्दा उनले साहित्यसँग मितेरी गाँसिन् र शब्दसँग खेल्न थालिन। उनले हार जितको कुरालाई शब्दमा उतारिन् र बन्यो एउटा माया पिरतीको गीत। ‘हार जति सबै मेरो जीत सबै तिम्रो’ जुन गीत पहिलोपटक २०६४ मा लीला राईले गाइन् जुन गीतको शब्दलाई चन्दु गोर्खालीले लय दिएका थिए।
उनी रोजगारीको शिलशीलामा समुन्द्रपारीको देश वेलायत पुगिन् र त्यहीबाटै शब्द सिर्जनामा तल्लिन रहिन्। उनले आफ्ना शब्द सिर्जनालाई २०६९ मा ‘आमा’ नामक एल्बम निकालेर स्रोतामाँझ ल्याइन्। उक्त एल्बममा सात वटा गीत समाबेश थियो। आङवुहाङको पहिलो गीति कोसेलीमा दिपक लिम्बु, कुसल थलङ, श्रेयसी चेम्जोङ, सञ्जय तुम्रोक, रुपक चौधरी र विष्णु चेम्जोङले स्वर दिए। त्यसपछि उनी निरन्तर शब्द लेखनमा सक्रिय हुने क्रममा अहिले उनी आफ्नो लेखनको दोस्रो कोसेली ‘आमा भाग २’ बजारमा ल्याउदै छिन्।
उनको पहिलो कोसेलीको रुपमा आएको एल्वम आमाको शीर्ष गीत श्रेयसी चेम्जोङले गाएकी थिइन् भने दोस्रो कोसेली स्वरुप विदेसिनु पर्दाको पीडाको बिषयलाई उठाएर बजारमा आउन लागेको ‘आमा भाग २’ मा पनि शीर्ष गीत श्रेयसीले नै गाएकी छन्। केही दिनभित्र बजारमा आउन लागेको उनको सो एल्बममा कृष्णभक्त राई, कुसल थलङ, बिक्रम राई लगायतको गीत रेकर्ड भइसकेको छ भने अन्य गीत रेकर्डको अन्तिम तयारीमा छन्। आङवुहाङको पहिलो एल्बमका सबै गीतको म्यूजिक भिडियो छायाङकन वेलायतमै भयो।
उनीद्वारा लिखित गीतमध्ये नौ वटा गीतको म्यूजिक भिडियो पनि बनिसकेको छ। तीमध्ये एउटा गीतको म्यूजिक भिडियो मात्र नेपालमा छायाङकन भएको छ। गीत लेखन त्यति सजिलो नभएको र अरुको भूमीमा काम गर्दै शब्द सिर्जना गर्नु त्यति नै कठिन् उनी बताउछिन्। उनको बुझाईमा गीतमा कथा होइन, यथार्थ भोगाई हुनुपर्छ। आधा जीवन विदेशमै आङवुहाङले सरदर ४० वटा रेकर्ड योग्य गीत लेखेकी छन्। १३ वर्ष जति हङकङमा र गएको ६ वर्षदेखि वेलायतमा प्रवासी जीवन बिताइरहेकी उनले सामाजिक कामलाई पनि त्यतिकै प्राथमिकता दिइरहेकी छन्।
गैर आवासीय नेपाली संघ (एनआरएन) वेलायतकी केन्द्रिय सदस्य र भूपु सैनिक संघ (विगेसो) को केन्द्रिय सचिव समेत रहेकी उनी ‘याक्थुङ माङगेना चुम्लुङ वेलायतको उपाध्यक्ष भएर लिम्बु संस्कार र संस्कृतिको रक्षामा पनि लागिरहेकी छन् । उनै रचनाकार कल्पना आङबुहाङसग बेलायत फर्कनु अघि गरिएको कुराकानी :
तपाईको बाल्यकाल कहाँ बित्यो ?
मेरो पूर्खौली घर ताप्लेजुङ हाङपाङ वडा नं. ८ हो । मेरो बाल्यकाल त्यही बित्यो । गाउँले परिवेशमा हुर्किएँ । गाउँबाट एक वर्षको धरानको बसाईबाट हङकङ हुँदै अहिले बेलायतमा बस्दै आएको छु ।
साहित्यिक यात्रा कहिलेबाट सुरु गर्नु भयो ?
गाउँमै पढ्ने बेला रेडियोबाट गीत सुन्ने गरिन्थ्यो । रेडियो नेपालबाट सुनेका गीतका शब्द लय उतारेर ‘प्यारोडी’ को रुपमा स्कुलमा गाउँथ्यौँ । त्यसमा मैले शब्द उतार्थे साथीहरुले गाउँथे ।
कम्युनिस्टको प्रभाव भएकाले होला हाम्रो गाउँघरमा जनवादी गीतहरु गाइन्थे । हामी पनि स्कुल, घर र वनपाखामा जनवादी गीतहरु गाउँथ्यौँ । स्कुलमा क्रान्तिकारी गीत गाउँथ्यौं । जनताको जीवन व्यवहारसँग जोडिएकाले होला निकै रमाइलो लाग्थ्यो क्रान्तिकारी गीत गाउन ।
शब्द रचनातिर कसरी लाग्नु भयो ?
सानैबाट मेरो रुचि नै लेखन वा शब्द संकलनतिरै थियो । स्कुलमा पनि अरु साथीहरुले गाउँने र मैले शब्द संकलन गर्थे । कहिलेकहीँ स्कुलमा गाउँथे पनि । अहिले पनि गाउँछु पनि ।
तपाईं हङकङ किन र कसरी जानु भयो ?
मेरो बुबा ब्रिटिस आर्मी हुनुहुन्थ्यो । गोर्खाज्को परिवारलाई आइडीमा जान पाउने व्यवस्था थियो । आइडीमा म हङकङ १३ वर्ष बसे । त्यहाँ पनि मैले गीत संगीतमा रमाउने गर्थे । हङकङ बस्दा पनि केही लेखे तर यसैमा लागेको भनेको युकेको बसाइपछि हो । युकेमा भीडभाड छैन । एकान्तपन र एक्लोपनले मलाई बच्चादेखिको रुचि भएको क्षेत्रमा लाग्न सहयोग गऱ्यो ।
अहिलेसम्म कतिवटा गीत लेख्नु भएको छ ?
अहिलेसम्म ३७ वटा गीत लेखेको छु । जसमा १५ रेकर्डिङमा गइसकेको छ र ९ वटा भिडियो एल्बम बजारमा आइसकेको छ । ‘आमा’ एल्बममा मैले पाएको मायाले अहिले ‘आमा २’ तयारीमा छु । गीतहरु सबै रेकर्डिङ भइसकेको छ । तीन गीतको भिडियो पनि तयार भइसकेको छ ।
एल्बमको नाम ‘आमा’ किन राख्नुभयो र यसका कस्ता गीतहरु समेट्नु भएको छ ?
म जन्मदिने आमा र मेरो धर्ती आमालाई सम्मान गर्छ र समर्पित छु त्यसैले यो नाम अगाडि आयो । आमालाई सम्बोधन गर्ने ‘नरोए आमा’ बोलकै गीत नै पहिलो गीत हो । यसमा आधुनिक, लोक, पप गीतलाई समेटेकी छु ।
सबैभन्दा बढी खुशी भएको गीत कुन हो ?
यो रचना भनेको कुरा आपूले जन्माएको बच्चा भन्छन्, त्यसै लाग्छ मलाई पनि । आमालाई आफ्ना सबै सन्तानको माया हुन्छ । यतिमात्र हो कुनै सन्ताले राम्रो काम गरेको र कुनै सन्तानले राम्रो काम गरिदिएको भए हुन्थ्यो भन्ने लाग्छ । ‘यो जिन्दगानी भिक्षा भए, नरोए आमा’ बोलको गीतले आफैँलाई छुन्छ । धेरै पटक सुन्छु ।
गायकको तुलनामा रचनाकार र संगीतकार ओझेलमा छन् भनिन्छ तपाईंलाई कस्तो लाग्छ ?
हो, त्यो सत्य कुरा हो । गायक अगाडि आउने भएकाले उहाँहरुको भूमिका सबैले देख्छन् र हाम्रो भूमिका देख्दैनन् । हामी रचनकार र संगीतकार पछाडि परेको गहिरो महसुस हुन्छ । गायकले आफूले गाएको गीत कसको रचना र संगीत हो भनिदिएको भए सायद हामी ओझेलमा पर्नुपर्ने थिएन । कतिपय गायकले त मेरो गीत भन्दै गाउन पनि पछि पर्दैनन् । त्यतिबेला दुःख लाग्छ । रचनाकार, संगीतकार र गायक एक अर्काका पूरक हौँ भन्ने कुरा गायकले बुझ्नुपर्छ ।
नेपाली गीत संगीतको भविष्य कस्तो देख्नु भएको छ ?
नेपाली गीत संगीतको क्षेत्र निराशाजनक छ । रचनाकार, संगीतकार र गायक बढी स्रोता र दर्शक कम भएको अवस्था छ । सबै रचनाकार, संगीतकार र गायक भएको अवस्था छ । सुरुमा रचनाकार, संगीतकार र गायक भन्ने ठूलो हुन्थ्यो । तर आजभोलि उ, म, त्यो सबै रचनाकार, संगीतकार र गायक । स्रोता कम भएको अवस्था छ ।
यसो किन भएको होला ?
बाहिर संस्कार र संस्कृतिका प्रभाव मुख्य कारण हो । नेपाली गीत संगीत र हराउँदै जान्छ कि भन्ने चिन्ता पनि लाग्छ । सबैतिर हिन्दी र अंग्रेजी मात्र सुनिन्छ । सञ्चार माध्यम, कार्यक्रमस्थल, सार्वजिनक यातायातमा पनि नेपाली गीत सुन्न पाइँदैन । हामी नेपाली बढी आयातित कुराको पछि लाग्छौँ । मेरो परिवारमा मैले लेखेको गीत सुन्दैनन् र हिन्दी र अंग्रेजी सुन्छन् । नेपालीहरुले नेपाली गीत संगीत सुन्ने बानी बसालेको भए हुन्थ्यो ।
नेपाली गीत संगीतको स्तर कम भएकाले स्रोताहरु हिन्दी सुन्न बाध्य भएका हुन् कि ?
मलाई त्यस्तो लाग्दैन । नेपाली गीतहरु हिन्दीभन्दा कयौँ गुणा बढी स्तरीय छन् । नेपालीहरु नेपाली गीत सुन्दैनन् अनि कसरी थाहा हुन्छ स्तर । जसरी आयातित गीत संगीतलाई सुन्छौँ त्यसरी नेपाली गीत संगीतलाई सुनौँ त अनि थाहा हुन्छ कसको स्तर कति छ भन्ने कुरा । हिन्दीको ‘उद्रेका चोलीका पिछे क्या है’ जस्ता गीतहरु हिट भएका छन् । त्यसको के स्तर छ र ?
नेपाली गीत संगीतलाई कसरी माथि उठाउन सकिन्छ ?
नेपाली गीत संगीत मात्र होइन चलचित्र क्षेत्र पनि सस्कँदो छ । नेपाली फिल्म लागेका हलहरु खाली हुन्छन् भने बाहिर फिल्म लागेभने टिकट पाइँदैन । स्रोताले पहिले नै मनमा नेपाली गीत संगीतको स्तर कम हुन्छ भन्ने बुझाइ राखेको हुन्छ अनि उसले कसरी नेपाली गीत संगीतको स्तर देख्छ । हाम्रा कलाकार पनि कला र क्षमता भएका छन् भन्ने बुझाइका साथ गीत संगीत र चलचित्र सुन्ने र हेर्ने गरेमा नेपाली कलाकारभित्र भएका कला र क्षमता नेपाली स्रोत र दर्शकले देख्छन् ।नेपाल र नेपालीलाई माया गर्ने भावनाका विकास हुनुपर्छ । नेपाली कला र संस्कृतिलाई माया गर्नुपर्छ, आफ्नै गीत संगीत सुन्नुपर्छ । मुख्य कुरा त हामी आफ्नो राष्ट्र र राष्ट्रियताप्रति प्रतिवद्धता हो । नेपाली कालाकारका कमी कमजोरीलाई सुधार्न पहल गर्नु प¥यो स्रोता र दर्शकले । नेपाली कलाकारका कमजोरी छन्, स्तर पुगेन भन्दै आयातित कला र संस्कृतिलाई माया गर्नु हुँदैन ।
विदेशमा बसेर पनि नेपाली कला र संस्कृतिलाई निरन्तरता दिइरहनु भएको छ, त्यहाँको वातावरणले तपाईंलाई छोएन ?
पहिलो कुरा हामी नेपाली हौँ । जहाँ बसे पनि नेपाल र नेपालीलाई माया गर्नुपर्छ । नेपाललाई माया ग¥यो भने आफ्नो कला र संस्कृतिका माया लाग्दोरहेछ ।
बेलायतमा बस्ने नेपालीहरुमाझ गीत संगीतको प्रभाव कस्तो छ ?
बाहिर बसेर हो किन हो नेपालमा बस्ने कतिपय मानिसहरुभन्दा लामो समयदेखि बेलायतमा बस्दै आएकाहरुले नेपाली गीत संगीतलाई माया गरेको पाइन्छ । बेलायतमा गीत लेख्ने, संगीत भर्ने, चलचित्र बनाउने, कवित–कथा लेख्ने धेरै छन् । स्रोता, दर्शक र पाठकले नेपाली गीत, चलचित्र, पुस्तक खोजीखोजी सुन्छन्, हेर्छन र पढ्छन् । नेपाली कलाकारलाई माया पनि गर्छन् ।
बाल्यकालमा जनवादी गीत संगीतबाट प्रभावित हुनुभयो र अहिले आधुनिक र लोकतिर लाग्नुभयो किन ?
अहिले पनि मलाई जनवादी गीतहरु मन पर्छन्, सुन्छु पनि । यो सबै समय र परिस्थिति गर्ने कुरा रहेछ । स्कुल पढ्दा र संगतले त्यसको प्रभाव परेको थियो । मलाई पछिसम्म पनि त्यसको प्रभाव थियो । तर, मैले नेपाल छाडे त्यहाँका वातावरणको मागलाई पूरा गर्नु मेरो बाध्यता बनेर आयो ।
