जाजरकोट, ८ असार ।
जिल्लाको लहँ गाविसको महादेवपुरीको जंगलमा गत वर्ष देखि गुँड लगाउदै आएको सुनगिद्ध यसवर्ष अण्डा सहितको गुँड छोडेर हरायको छ । गिद्धले गुँड लगाएको जंगल आसपासका रुखहरु स्थानियले फडानी गरे पछि अण्डा सहितको गुँडनै छोडेर गिद्ध हराएको हो ।
लहँ ६ महादेवपूरी र मुलीपोखराका स्थानियहरुले रुख काट्ने, जंगल फडानी गर्ने गरेपछि विश्वमै दुर्लभ मानिएको सुन गिद्ध अण्डा सहितको गुँड छाडेर भागेको पशु स्वास्थ्य प्राविधिक गोविन्दबहादुर सिंह वताउछन् ।
साथै अण्डा कोरल्न गुँडमा बसिरहेको सुन गिद्धलाई वच्चा बच्ची र पशुचौपाय चराउन गएका गोठालाहरुले ढुङ्गा हान्ने गरेपछि गिद्धले गुँड नै छोडेर हराई सकेको सिंहको तर्क छ । अण्डा सहितको गुँड नै छोडेको सुन गिद्ध हाल कहा छ भन्नेवारेमा कसैलाई पनि जानकारी छैन् ।
विश्ववाटै लोभ हुदै गएको सुनगिद्ध गुँडवाटै हराए पछि खोजी कार्यको लागी समन्धित पक्षको ध्यान जान सकिरहेको छैन् ।
प्राकृतिक वातावरण र भौगलिक बनावटले सुनगिद्धका लागी जाजरकोट निकै उत्तम ठाउँ भएता पनि जिल्लावासीहरुले गिद्धको लागी उपयुक्त वातावरण श्रृजना नगरिदिएकोमा पशु स्वास्थ्य प्राविधिक गोविन्दबहादुर सिंहले निकै दुखेसो गरे ।
उनले भने “गत वर्ष पनि लहँको महादेवपुरीकै जंगलमा गुँड लगाएर अण्डा पारेको सुनगिद्धले चल्ला कोरल्न सकेना, गत वर्ष पनि त्यहाँका मान्छेले रुख ढाल्ने र जंगल फडानी गर्दा गिद्धले चल्ला कोरल्न सकेन् ।”
गत वर्ष गिद्ध संरक्षणका लागी भन्दै सक्लाको सेपुखोलामा गरिएको गिद्ध सम्मेलनको ताका नै लहँको महादेवपुरीमा सुनगिद्धले गुँडलगाएर आफ्नो वास स्थान वनाएको पत्ता लागेको थियो । सुन गिद्धको गुँड भेटिएको पाल्पा पछिको देशकै दोश्रो जिल्ला जाजरकोट हो ।