महेन्द्रनगर, ५ असार ।
कञ्चनपुरको महेन्द्रनगरमा जारी युथ कप डे नाईट टी ट्वाटी क्रिकेट प्रतियोगिता २०१५ को उपाधि गुरुले हात पारेको छ ।
हिमालयन क्रिकेट एकेडेमीको खेल मैदानमा गएराती सम्पन्न फाईनल भिडन्तमा आयोजक युथ क्लवलाई ५६ रनले स्तव्ध पार्दै गुरुकुलले उपाधी रक्षा गरेको हो । टस जितेर व्याटिङ गरेको गुरुकुलले निर्धारित ओभरमा ४ विकेटको क्षतीमा १५६ रन वनाएको थियो ।
गुरुकुलका लागी सन्जु रानामगर र योगेन्द्र कार्कीले समान ४३ ÷४३ रन जोडेका थिए । त्यस्तै दिलिप नाथ र कमल ऐरीले समान ३१÷३१ रन जोडेका थिए । युथ क्लवका लागी अनिल चन्दले २ विकेट हात पारे भने युद्ध विक्रम चन्द र महेन्द्र चन्दले समान एक एक विकेट लिए ।
१५७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रीएको युथ क्लव १३.३ ओभर खेल्दै १ सय रनमा समेटियो । सुनिल भाटले सर्वाधिक ५८ तथा दिपेन्द्र चन्दले १७ रन वनाएपनि अन्य व्याटसम्यानले दोहोरो रन सम्म जोड्न नसक्दा युथ क्लवले उप विजेतामै चित्त बुझाउन पर्यो ।
युथ क्लवको पारी ध्वस्त पार्ने क्रममा गुरुकुलका लागी कमल ऐरीले ३ ओभर वलिङ गर्दै १५ रन खर्चेर ३ विकेट हात पारेका थिए । त्यस्तै योगेन्द्र कार्की , दिपेश चन्द र कृष्ण तिवारीले समान दुई दुई विकेट लिएका थिए ।
जितसंगै गुरुकुलले प्रथम पुरस्कार ५० हजारसहित , ट्रफि र प्रमाण पत्र हात पारेको छ भने आयोजक युथ क्लवले द्धितिय पुरस्कार २० हजारसहित ट्रफि र प्रमाण पत्रमा चित्त वुझाएकोे छ । म्यान अफ द म्याच गुरुकुलका कमल ऐरी घोषित भए ।
युथ क्लव अफ महाकालीले आयोजना गरेको प्रतियोगिता जेठ २५ गतेवाट सुरु भएको थियो । प्रतियोगितामा १६ टिम सहभागी रहेका युथ क्लवका संयोजक कमल राज चटौतले जानकारी दिए ।
