काठमाडौ ३० जेठ ।
दैनिक सयौं पर्यटकको आगमनले करोडौ आम्दानी गर्दै आएकोे भक्तपुर नगरपालिकाले आगामी सोमबारदेखि भक्तपुरको भ्रमण गर्न पर्यटकलाई आह्वान गरेका छ ।
भूकम्पले विश्वसम्पदा सूचीमा सुचिकृत दरबार स्क्वायदेखि भक्तपुर नगरभित्रका धेरै सम्पदाहरुमा क्षति पुगेपछि पर्यटकको आगमन रोकिएकाले आगमन पुनः सुरु गर्न नगरपालिकाले पर्यटकका लागि सम्पदा अवलोकन खुल्ला गर्ने भएको नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले जानकारी दिनुभयो ।
भूकम्पले पर्यटन शुल्क लिने विभिन्न ठाउँको काउण्टर समेत भत्काएको छ भने नगरक्षेत्र भित्रका ६७ वटा सम्पदा पूर्ण रुपमा क्षति भएको छ । भक्तपुरका ४९ वटा सम्पदामा आंशिक क्षति पुगेको छ ।
पर्यटकका लागि भक्तपुर दरबार क्षेत्र खुल्ला गर्ने भएपछि कर्मचारीले भत्किएका सम्पदाको भग्नावशेष हटाउने, मूर्तिहरु सुरक्षित स्थानमा राख्ने कार्य सम्पन्न गरिएको नगरपालिका पर्यटन सूचना केन्द्र खौमाका प्रमुख दामोदर सुवालले बताउनुभयो ।
गत बैसाख १२ गतेको महा विनाशकारि भूकम्पले भक्तपुरका ऐतिहासिक सम्पदामा समेत क्षति गरेपछि पर्यटकको आगमन बन्द भएको थियो ।