बिर्तामोड ,२१ जेठ ।
यातायात ब्यवस्था कार्यालय मेचीले सिटि सफारी रिक्साको दर्ता प्रक्रियामा घुस लिने गरेको खुलासा भएको छ । काममा ढिलाई गरेको जनगुनासो आइरहेका बेला दर्ता प्रक्रियामा १ हजार देखि १५ सय सम्म घुस लिने गरेको खुलेको हो ।
सिटि सफारी रिक्साको दर्ता प्रक्रिया अघि बढाउने क्रममा १ हजार देखि १५ सय सम्म घुस नदिदा काम नहुने बिर्तामोडका एक अटो रिक्सा ब्यवसायीले बताए ।
नाम नलेख्ने सर्तमा उनले भने ‘ घुस बिना त काम हुदैन, खुवाउदा काम छिटो हुन्छ त्यसैले हामी घुस घुवाउन बाध्य छौ ।’ उनले भने–‘ तपाईहरुले समाचार लेखिदिनु पर्यो । उनका अनुसार रिक्साको अञ्चलीकरण भएर मेचीमा ल्याउने क्रममा एउटा कागज नपठाएको भन्दै ३ सय रुपैया सो कागज बापत मात्र लिने गरेका छन् ।
उता यातायात ब्यवस्था कार्यालय मेचिका प्रमुख जय कुमार घिमिरेले भने कर्मचारीले घुस नलिएको बताए । ‘ बिचौलियाले के के गर्छन हामीलाई थाहाँ हुदैन ’ उनले भने ।
तर यातायात ब्यवस्था कार्यालयका कर्मचारीले सोझै सेवाग्राहीको काम गर्न आलटाल गरेर बिचौलीया मार्फत काम गर्न बाध्य बनाउने गरेका छन् ।
अटो रिक्सा दर्ताका लागि बिचौलियाले भने ६ देखि ८ हजार रुपैया लिने गरेको अटो ब्यवसायी महेन्द्र पाण्डेले बताए ।
यातायात कार्यालय परिसरमा रहेका सयौं बिचौलियाले घुस बापतको रकम भन्दै बढी पैसा लिने गरे पनि कारवाहीको अधिकार पाएको यातायात कार्यालय भने मौन रहदै आएको छ ।
यातायातकै संरक्षणमा कार्यालय वरि परी संयौको संख्यामा बिचौलियाहरु रहेका छन् ।