काठमाडौं, १८ जेठ ।
क्यानडाले भूकम्प प्रभावित नेपाली युवालाई रोजगारी दिने इच्छा देखाएको छ ।
भूकम्पपछि राहत तथा उद्धारका लागि नेपाल आउनु भएका क्यानडाका श्रम तथा महिला मन्त्री केल्ली लेइचले हिजो श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँगको भेटमा भूकम्प प्रभावित युवालाई क्यानडामा कृषि क्षेत्रमा रोजगार दिन सक्ने बताउनु भएको हो ।
भेटमा राज्यमन्त्री गुरुङले रोजगारीका हिसाबले आकर्षक क्यानडामा नेपाली युवालाई रोजगारी दिन आग्रह गर्नु भएको थियो । उहाले क्यानडासँग नेपालको विगतदेखि नै राम्रो सम्बन्ध रहेकोले यो विपतमा नेपालीलाई रोजगारीका अवसर दिँन आग्रह समेत गर्नु भएको छ ।
भेटमा लेइचले नेपाली कामदार लिने विषयमा क्यानडामा रहेको नेपाली राजदूतसँग छलफल भइरहेको र क्यानडामा कृषि क्षेत्रमा मौसमी काम हुने भएकाले तत्काल ६ महिनादेखि १ वर्षसम्म काम गर्ने र त्यसपछि स्वदेश फर्कने अवधारणा अनुसार कामदार लिने बारे छलफल भएको बताउनु भएको थियो ।