काठमाण्डौ, १२ जेठ ।
हालै भारतीय प्रधानमन्त्री नरेन्ऽ मोदीको चीन भ्रमणका बेला गरिएको सम्झौताप्रति एकीकृत माओवादी उपाध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गम्भीर आपत्ति प्रकट गर्नु भएको छ ।
आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मोदीको चीन भ्रमणका बेला लिपुलेकलाई दुई देशको व्यापारिक मार्गको रुपमा विकास गर्ने सम्झौताको श्रेष्ठले विरोध गर्नुभएको हो ।
यस सम्झौताले नेपालको राष्ट्रिय सार्वभौमिकताको अवमूल्यन र नेपालीहरुको अपमान गरेको श्रेष्ठले बताएका छन् ।
हेर्नुस नारायणकाजी श्रेष्ठको स्टाटस
लिपुलेक नेपालको भुमी हो। यसलाई भारतले अतिक्रमण गरिराखेको छ। यो तथ्य चीनलाई पनि राम्ररी थाहा छ। भारतले समेत यसलाई बिबादको बिषय का रुपमा स्विकार गरेको छ। यस्तो अवस्थामा नेपाल सङ्गको परामर्श र अनुमति बिना चीन र भारतले कसरी लिपुलेक सँग सम्बन्धित सम्झौता गर्न सक्यो? यस प्रति हाम्रो गम्भीर आपत्ति रहेको छ। यसले नेपालको राष्ट्रिय सार्बभौमिकता को अबमुल्यन र नेपालीहरुको अपमान गरेको छ। चीनले नेपालको सार्बभौमिकता तथा हितको उपेक्षा गरेर आफ्नो हितलाई मात्र ध्यान दिन मिल्छ?
तसर्थ लिपुलेक लाई लिएर नेपालको सहमति र संलग्नता बिना कुनै सम्झौता हुन सक्तैन। चीन र भारतले उक्त सम्झौता लाई तत्काल सच्याउनु पर्छ।भारतले आफ्नो अतिक्रमण लाई बलियो बनाउन यसमा सकारात्मक भूमिका खेलेन भने पनि चीन ले आफ्नो पहलबाट यसलाई सच्याउनु पर्दछ। चीन र नेपालको सम्बन्धमा अबिश्वास र आशङ्का बढ्न नपओस ।
नेपाल सरकारले यसबारेमा तुरुन्त कुटनैतीक माध्यमबाट कदम चाली हाल्नु पर्छ।