काठमाण्डौ ,११ जेठ ।
अभिभावक बिहिन बालबालिका एक जिल्लाबाट अर्कोमा स्थानन्तरणको सोचमा हुनुहुन्छ ? होसियार !
अब देखि बालबालिकालाई आफ्ना अभिभावक बिना बसोबास गरेको स्थानबाट अन्य जिल्ला अनुमति बिना लैजान नपाईने भएको छ ।
सरकारले विनाशकारी भुकम्पपछि अभिभावक गुमाएका बालबालिकाहरु असुरक्षीत हुन थालेपछि एक जिल्लाबाट अर्को ठाउँमा बालबालिका लैजान कडाई गरेको हो ।
भुकम्प प्रभावित र अन्य जिल्लामा अभिभावक बिना बालबालिका एक ठाउँ छोडेर अर्को ठाउँमा जान पाउने छैनन् भने अन्तरदेशीय धर्मपुत्ररपुत्री कानुन अन्तरगत बालबालिका बिदेश पठाउन पनि तत्काललाई रोक लगाएको छ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले पचहत्तरै जिल्लाका बालबालिकालाई एउटा जिल्लाबाट अर्को ठाउँमा स्थानान्तरण गर्न रोक लगाएको हो ।
मन्त्रालयले बालबालिकाको स्थानान्तरण रोक्नका लागि ७५ वटै जिल्लाका प्रशासन कार्यालय र महिला बालबालिका कार्यालयमा परिपत्र गरिसकेको छ । जिल्ला ÷जिल्लामा सुरक्षाकर्मीलाई पनि सजग गराइएको छ ।
घर भत्केका, परिवार गुमाएर बिचल्लीमा परेका बालबालिकालाई अन्य ठाउँमा लानका लागि जिल्ला बाल कल्याण समितिको स्वीकृति अनिवार्य लिनु पर्नेछ ।
कतिपय बालबालिकालाई बाल गृहमा ल्याएर जबरजस्ती धर्म परिवर्तन गराउने, उनीहरुको नाममा पैसा उठाउने, कतिपयलाई माग्न पठाउने र बिदेशमा धर्मपुत्रपुत्रीको नाममा बेचबिखन गर्ने उदेश्यले बालबलिकाको तस्करी भइरहेको पाइएको गृह मन्त्रालयले जनाएको छ ।
आइतबार मात्रै दोलखाको लिपिङ गाविसबाट १९ जना बालबालिकालाई काठमाडौं ल्याइएको थियो । देहरादुनस्थित ‘पेस्तालोजी चिल्ड्ेरेन भिलेज’ नामक संस्थाका कर्मचारीले बिना अनुमति काठमाडौं ल्याएका थिए ।
यसअघि पनि धादिङबाट ४५ र रुकुमबाट २२ बालबालिकालाई काठमाडौं ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । सिन्धुपाल्चोमा पनि केही बालबलिकालाई जम्मा गर्दै गरेको अवस्थामा फेला पारिएको थियो ।
हालसम्म उद्धार गरिएका सबै बालबालिकालाई केन्द्रीय बाल कल्याण समितिले आफ्नो मातहतका बिभिन्न संघ संस्थामा राखेर हेरचाह गरिरहेको छ । समितिले उनीहरुको पारिवारिक मिलन र पुर्नस्थापना गराउने जिम्मा लिएको छ ।