लमजुङ , ११ जेठ ।
लमजुङ खुदीको सिउरुङ गाउँको स्थानीय कला संस्कृतिको संरक्षण र संबद्र्धन तथा प्रबद्र्धनका लागि जेठ १३ र १४ गते नवौं सिउरुङ महोत्सवको आयोजना गरिने भएको छ ।
‘घाँटु, रोधी, हाम्रो संस्कृति, सिउरुङ महोत्सवमा जाउँ–दीगो आर्थिक विकासका लागि पर्यटन क्षेत्रमा सहभागी होऔँ’ भन्ने नाराका साथ महोत्सवको आयोजना हुन लागेको हो ।
सिउरुङ महोत्सव ग्रामीण पर्यटन विकास समिति र अन्नपुर्ण ग्रामीण पर्यटन विकास समितिको आयोजना नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति, लमजुङ उद्योग बाणिज्य संघ, रोटरी क्लब, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना र खुदी गाउँ विकास समितिको प्रवद्र्धनमा हुन लागेको हो ।
महोत्सवमा स्थानीय कला संस्कृति झल्कने झाँकीहरुका साथै हस्तकलाका सामग्रीहरुको प्रदर्शन गरिने छ ।
महोत्सवमा खाना महोत्सव, कृषि, जडिवुटी, चोयावाट निर्मित भकारी, डोको, स्याखू, चर्खा, झोला, पछ्यौरा लगायत ऊन र धागोवाट निर्मित सामग्रीहरुको प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण सिउरुङ गाउँमा गुरुङ जातिको घना वस्ती छ । यहाँ होमस्टे समेत सुरु गरिएको छ ।
साँस्कृतिक कार्यक्रम, सिउरुङ पर्यटनमा टेवा पुर्याउने व्यक्तिलाई सम्मान, गुम्बा, शिलादेवी मन्दिर, जलदेवी मन्दिर लगायत मनोरम दृश्य अबलोकन, स्थानीय खाना महोत्सवका आकर्षण रहनेछन् ।
महोत्सवमा भूकम्पपीडितका लागि राहात रकम संकलन गरिने पनि जनाईएको छ । सो अबसरमा रोटरी क्लब अफ लमजुङले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।
सिउरुङ गाउँलाई नेपालको एक नयाँ पर्यटन गन्तब्यको रुपमा प्रचारप्रसार गर्ने, अन्नपुर्ण पदयात्राको नयाँ बैकल्पिक मार्गको रुपमा प्रवर्धन गर्ने लक्ष्य छ । यस्तै ,गुरुङ संस्कृति र जनजीवनको संरक्षण र प्रवद्र्धनका साथै स्थानीय स्रोतसाधन, सीप तथा कृषि उत्पादनको विकास गरी गरिवी तथा बेरोजगार हटाउने पनि महोत्सवको उदेश्य छ ।
समुन्द्री सतहदेखि १ हजार ८ सय ५४ मिटरको उचाईमा रहेको पर्यटकीय गाउँ सिउरुङ पुग्न सदरमुकाम वेसीशहरवाट एकदिन लाग्छ ।