कठमाण्डौ ,९ जेष्ठ ।भुकम्प गएको एक महिना पुग्न लाग्दा पनि नौ जिल्लाका ७० गाविसमा अझै राहत पुगेको छैन । भूकम्पले ध्वस्त पारेका विकट ७० गाविसमा सरकारी र गैरसरकारी कुनै पनि निकायबाट राहत सामग्री नपुगेको भेटिएको हो ।
भूकम्पले बढी प्रभावित सिन्धुपाल्चोक, दोलखा, गोरखा, रसुवा, काभ्रे, धादिङ, नुवाकोट र लमजुङका विकट गाविसमा एक महिना पुग्न लाग्दासमेत राहतका नाममा कुनै पनि खाद्यान्न तथा अन्य सामग्री नपुगेको सभासद्, कर्मचारी र प्रधानमन्त्रीका सचिवालयका कर्मचारीहरुको संयुक्त स्थलगत अध्ययनले देखाएको छ ।
‘सरकारी र गैरसरकारी क्षेत्र संस्थाबाट वितरण गरिएका राहत सबै सुगम क्षेत्र केन्द्रित छन् ’ स्थलतगत अध्ययनबाट फर्किएका सभासद् अमरसिंह पुनले भन्नुभयो ‘जुन क्षेत्रमा भूकम्पले बढी क्षति गरेको छ, सवारी साधन पुग्न सकेका छैनन्, त्यस्ता नौ जिल्लाका ७० भन्दा बढी गाविसमा राहतका नाममा एक गेडो चामल पनि पुगेको छैन ।’
टोलीले वैशाख १२ देखि तीन साताभन्दा बढी समय लगाएर गरेको स्थलगत अध्ययनले सिन्धुपाल्चोकको गुम्बा, गोल्चे, पाङताङ, बराम्ची, सेलाङ, हगाम, बतासे, बरुवा, भोताङ,लिस्ती र फुलपिङमा राहत सामग्री नपुगेको ठहर गरेको छ ।
यस्तै, वैशाख २९ गतेको कम्पनबाट बढी प्रभावित दोलखाका ११ विगक गाउमा पनि राहतको नाममा पाल सम्म पुगेको छैन ।
गौरिशंकर ,लामावगर ,खोपा ,चाँगु ,दिगु ,तिरङखा ,आलप्पु ,भ्याकु र सुरी गाविसमा राहत नपुगेको स्थलगत अध्ययनले देखाएको आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
यसैगरी ,भुकम्पको केन्द्रबिन्दु रहेको गोरखाको उत्तरी भेगका साँमागाउ ,लोहो ,प्रोक सिर्दिबास ,बिही चुमचुमे ,छेकम्पार ,उहिया ,करौजा ,लापु ,कासीगाँउ ,मान्वु ,रम्दीलगायतका गाविसमा राहत पुगेको छैन ।