काठमाण्डौ,जेष्ठ ३ ।
दिन त आज पनि जेष्ठ ३ नै हो । तर यो ५० साल जेष्ठ ३ को दिन एमाले सहित बामपन्थी समर्थकहरुका लागि निराशा र रोदनको दिन थियो ।
जुन दिन एमालेका तात्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको चितवनको दास ढुंगामा गाडी दुर्घटनामा शंकास्पद मृत्यु भएको थियो । त्रिसुलीमा खसेका नेताद्धय आज मूर्ति र तस्वीरमा मात्र छन् ।
उनीहरुका बाचेका सवारी चालक अमर लामा पनि केही वर्ष अघि संदीग्ध गोलीको शिकार बने पछि अब मदन भण्डारीको हत्यारा फेला पार्न शायदै कठिन देखिएको छ ।
अहिले त अझ पार्टी नेतृत्वले यस विषयमा अभिव्यक्ति दिन पनि छाडेको देखिएको छ ।
आजको दिनमा एमालेका नेताहरु तथा उनकै श्रीमती एवं पार्टी उपाध्यक्ष विद्या भण्डारी समेत खासै यस विषयमा चर्चा गर्दिनन् । यद्यपि उनले अनेमसंघको पाचौ महाधिवेशन बीरगञ्जमा भएको बेलामा भने कि थिईन् कि “ मदन भण्डारीको हत्या भएको हो । तर माओवादी शान्ति प्रकृयामा आएर उनीहरुको कुरा उठाउनु परेकाले मदन भण्डारीको हत्याको विषयमा कुरा उठाउन एमालेले नपाएको हो ।”
यसलाई एमाले समर्थकहरुले त्यति राम्रो सग‘ पचाउन सकेका छैनन् अझै पनि । मे १३ २०१३ मा एमाले नेता शंकर पोखरेलको फेसबुकमा एउटा स्टाटर पव्लिस भएको थियो । जस अनुसार मदन आश्रितको हत्यारालाई बाहिर ल्याउनु नल्याउनु भन्दा पनि उनीहरुको बिचार ग्रहण गर्नु ठूलो कुरा हो ( हेर्नुस् पुरै स्टाटस् (Shankar Pokhrel

यसले के संकेत गर्दछ भने एकातिर एमाले नेतृत्व माओवादी नेताहरु तर्फ यो हत्याको सम्बन्ध रहेको पुष्टी गर्न खोज्दछन् अर्को तर्फ उनीहरु अब जे भयो भयो मदन भण्डारीको बिचार ग्रहण गरे भईहाल्छ भन्ने सोच रहेको देखाउछ ।
तीन पटक एमाले सरकारमा समेत नेतृत्व गरेर जादा रहस्य बाहिर नआउनुको पछाडीको कारण के हो ? पार्टीले बनाएको छानविन आयोगले प्रतिवेदन दिन नसक्नुको कारण के हो ? यो सबै रहस्यकै गर्भमा वित्यो २२ वर्ष र अझै कति वर्ष यसरी नै वित्ने हो त्यो निश्चित छैन ।
जे भए पनि आज सम्म पनि त्यतिखेरका चर्चित नेता भण्डारीको हत्यारा सार्वजनिक नहुनुले नेपालमा राजनीतिक नेतृत्वको भूमिका र भविष्यमाथि गंभीर प्रश्न भने उठीरहन सक्ने खतरा छ ।
आजको एमाले जुन जगमा उभिएको छ त्यसका जग निर्माता मदन भण्डारी नै मानिन्छ । आखिर यस्ता नेताको हत्याको त खोजी हुदैन भने राज्य र राजनीतिक पार्टीहरुको भूमिकामाथि प्रश्न उठ्नु स्वभाविक हुन्छ ।