बैशाख २९ काठमाण्डौं । बैशाख १२ गतेको भूकम्पले नेपालको कुनै पनि क्षेत्र अछुतो राखेन । जसका कारण अहिले सबै नेपालीहरु प्राय: दुखमा छन् र उनीहरुको राहतका लागि सबैतिरबाट सहयोगको हात फैलाईएको छ । यस्तोमा नेपाली फुटबल क्लब र खेलाडीहरु पनि राहत संकलन र वितरणमा लागिरहेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई लगायतका खेलाडी र मनाङ मस्र्याङदी , थ्रीस्टार , मच्छिन्द्र लगायतका फुटबल क्लबहरुले सक्दो राहत प्रदान गरेका छन् ।
मनाङले भूकम्प प्रभावित जिल्लाहरुका एक एक वटा स्कुलमा बाल बालिकाहरुका लागि स्टेसनरी सामाग्री वितरण गर्ने जनाएको छ ।
यस्तै न्यूयोर्कमा रहेको नेपाली फुटबल क्लबले भूकम्प पीडितहरुका लागि तीस लाख बराबरको राहत सामाग्री प्रदान गरेको छ ।
उनीहरुले अमेरीकामा रहेका नेपाली र अन्य संस्थाहरुबाट रकम संकलन गरी त्रिपाल टेन्ट लगायतका राहत सामाग्री खरीद गरेर हस्तान्तरण गरेका हुन् ।
क्लबका अध्यक्ष वाङला लामाको नेतृत्वमा रहेको टोलीमा कलाकार मनोज गजुरेल पनि सहभागी हुनुहुन्थ्यो ।
यसअघि क्रिकेट टिमका कप्तान पारस खड्का सहितका खेलाडीहरुले तीस लाख भन्दा बढी रकम संकलन गरेर बुझाएका छन् ।