दमक ,२७ वैशाख ।
मोरङको उर्लाबारीमा आइतबारदेखि सुरु भएको मदन भण्डारी स्मृति अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा दमक फुटबल क्लब विजयी भएको छ ।
डिफेण्डिङ च्याम्पियनसमेत रहेको दमकले राष्ट्रिय जागृति क्लब इटहरी सुनसरीलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । दमकका लागि पहिलो हाफको ३४ औं मिनेटमा अनन्त तामाङले एकमात्र निर्णाएक गोल गरे । खेलको म्यान अफ द म्याच दमकका रजिन धिमाल घोषित भए । यसअघि प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले खेलकुदले देशमा भएको भूकम्पको पीडालाई कम गर्न मद्दत गर्ने बताउनुभयो । मोरङको मंगलबारेस्थित सालबारी खेलमैदानमा सुरु भएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठान मंगलबारे सहित ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख प्राप्त गर्नेछन् । प्रतियोगिता अन्र्तगत सोमबारको खेल चर्च ब्वाइज युनाईटेड काठमाडौं र कञ्चनजंघा फुटबल क्लब दार्जी्लिङ भारतवीच हुने आयोजकले जनाएको छ ।