बैशाख २३ काठमाण्डौं । बैशाख १२ शनिबारको महाभुकम्प पछि जनजीवनका धेरै क्षेत्रहरु अस्तव्यस्त छन् । दैनिकी चलाउने देखि व्यापार व्यवशाय र अन्य कार्यलयहरु पूर्ण रुपले सञ्चालनमा आउन सकेका छैनन् ।
यस मध्य खानेपानीको समस्या पनि अर्को मुख्य समस्याको रुपमा देखिएको छ ।
भूकम्पले खास गरी फर्पिङ क्षेत्रमा पहिरो गएर उपत्यकाकै सुन्दरीजल पछिको दोस्रो ठूलो पाईपलाई भत्काएर विगारे पछि त्यस क्षेत्रबाट पानी आपुर्ति हुन सकेको छैन ।
जसले गर्दा ललितपुरको तीन क्षेत्र भैसेपाटी , शैबु र खोकनामा पानीको अभाव भएको छ ।
केयुकेएल मातहत रहेको आयोजना कार्यन्वयन निर्देशनालयका आयोजना निर्देशक तेजराज भट्टले फर्पिङमा भत्किएको ठॉउमा पाईप मर्मतको काम चलिरहेको र केही दिन भित्रैमा सबै क्षेत्रमा पानी आपुर्ति हुने जानकारी दिनु भयो ।
अहिले उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड ( केयुकेएल ) ले दिनमा ६ सय टैकर पानी वितरण गरीरहेको छ । यसरी झण्डै १२ लाख लिटर पानी सरकारले आपुर्ति गरीरहेको छ ।
आर्मी र प्रहरीले पानी बोक्ने गरेको टैंकरहरु पनि केयुकेएलले नै लिएर पानी वितरण गरीरहेको छ । निशुल्क रुपमा उक्त पानी वितरण भईरहेको छ ।
सुन्दरीजल सहित अन्य क्षेत्रमा भने पानीको लाईनमा कुनै समस्या भएको छैन ।
अनुमानित तथ्याङक अनुसार दैनिक ७ लाख मानिसलाई उपत्यकामा पानीको अभाव भईरहेको छ । विभिन्न गैरसरकारी संस्थाहरुले समेत भूकम्प पीडितहरुका लागि पानीको व्यवस्था गर्दै आएका छन् ।
त्यसै गरी काठमाण्डौं भित्र पनि घरहरु र बस्तीहरु विग्रिएको क्षेत्रमा र खास गरी घरको छतबाट धेरै पानीको टैकी झरेकाले पनि पानी थाप्न समस्या भएको छ । पानीका लागि टैकरहरुले वितरण गरेको ठाउमा मानिसहरुको लाईन देख्न सकिन्छ ।