जाजरकोट, २८ चैत ।
जाजरकोटमा महामारीको रुपमा फैलिएको अज्ञात रोग पहिचानका लागि आज क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतबाट चिकित्सक टोली प्रभावित क्षेत्र पुग्दैछ ।
जिल्लाबाट सम्भव नभएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट डाक्टर चेतन वाग्ले नेतृत्वको टोलीलाई प्रभावित क्षेत्र पठाइएको जाजरकोट जिल्ला स्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाहले जानकारी दिएका छन ।
यसअघि जिल्लाबाट डाक्टर दीपक पुन नेतृत्वको स्वास्थ्य टोली पठाए पनि रोग पहिचान हुन नसकेको बताइएको छ ।
शाहका अनुसार जिल्लामा प्रयोगशाला र दक्ष जनशक्ति अभावका कारण बिरामीको रक्त नमुना राजधानीस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइने र त्यसपछि मात्र रोग पहिचान हुन सक्नेछ ।
अझै पनि रोग पहिचान गर्न कम्तिमा तीन दिन लाग्ने कार्यालय प्रमुख शाहले बताएका छन् ।
जाजरकोटको ग्रामिण भेगको गाविस पैंक र अर्छानीलगायतमा दुई साता यता फैलिएको अज्ञात रोगले ११ जनाको मृत्यु भइसकेको छ ।
बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा झमझमाउने, रुघाखोकी लाग्ने लक्षण देखिएको चिकित्सकको भनाइ छ ।