मौरीपालनबाट आत्मनिर्भर बन्दै गोमा

मौरीपालनबाट आत्मनिर्भर बन्दै गोमा

  • शुक्रबार, मंसिर ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

हेटौँडा, ११ मङ्सिरः चार घारबाट मौरीपालन सुरु गर्नुभएकी धादिङको सिद्धलेक गाउँपालिका–१ बलमडाँडाकी गोमा सिंखडाको फार्ममा अहिले करिब २५० घार मौरी छन् । सुरुमा मौरीपालनको व्यावहारिक अनुभव नहुँदा १७ पुगेका गोलामध्ये तीन–चार वटामात्रै बाँकी रहे पनि उहाँले हार मान्नुभएन । रित्तिएका घारमा फेरि २० गोला किनेर मौरीपालनलाई निरन्तरता दिनुभयो । त्यही लगनशीलताले उहाँलाई सफल उद्यमी बनाएको छ ।
विसं २०७५ सालको भाइटीकाका दिन गोमा नजिकैका एक मौरीपालककहाँ घार किन्न पुग्नुभएको थियो । पहिलोपटक काढेको थोरै महमध्ये केही घरमै खपत भयो भने केही आफन्तलाई कोसेली दिनुभयो । यस वर्षको भाइटीकामा भने उहाँको घरमा नियमित ग्राहक नै आइपुगे । उनीहरूले घारबाट मह काढेको हेरे र त्यही मह किनेर लगे ।
मौरीपालन व्यवसायमा गरेको मेहनत र सफलताका लागि गोमाले बुधबार हेटौँडामा आयोजित १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा धादिङबाट उत्कृष्ट उद्यमीको सम्मान प्राप्त गर्नुभयो । रु ७५ हजारसहितको सम्मान ग्रहण गरेपछि उहाँले भन्नुभयो, “मेहनत गर्न सके कर्मको फल मीठो हुँदो रहेछ ।”

सासूआमाले तालिमबाट ल्याउनुभएको मौरीको घार देखेपछि गोमामा मौरीपालनप्रति रुचि जागेको थियो । २०७२ सालको भूकम्पपछि आसमान नेपालले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत सञ्चालन गरेको तीनदिने मौरीपालन तालिममा उहाँसहित २५ जना सहभागी हुनुभएको थियो । “त्यो तीनदिने तालिम लिँदालिँदै मलाई मौरी कहिले पाल्ने होला जस्तो भयो,” उहाँले भन्नुभयो ।
उहाँले २०७४ सालमा मौरी फार्म दर्ता गर्नुभयो । त्यसको अर्को वर्ष भाइटीकादेखि व्यावसायिक रूपमा मौरीपालन सुरु गर्नुभयो । सुरुका वर्षमा गोलामा क्षति बेहोरे पनि पुनः गोला खरिद गरेर व्यवसायलाई अघि बढाउनुभयो ।
व्यवसाय विस्तारका क्रममा गण्डकी बी कन्सर्नबाट उहाँले मौरीको स्याहार र गोला बिक्रीसम्बन्धी परामर्श पाउनुभयो । घारसहितका गोला बिक्री गर्न सकिने उपाय सिकेपछि व्यवसाय अघि बढाउन थप हौसला मिलेको उहाँले बताउनुभयो । पछि उहाँ मौरीपालनसम्बन्धी प्रशिक्षक प्रशिक्षणमा समेत सहभागी हुनुभयो ।
कोरोना महामारीका समयमा उहाँले फेरि अर्को चुनौती सामना गर्नुप¥यो । मौरीका बच्चा कुहिने समस्या देखिएकै बेला १२ दिनभित्र करिब ६० गोलाले घार छाडे । त्यसबाट निराश भए पनि उहाँले मौरीपालन छाड्नुभएन । घारको सङ्ख्या बढ्दै जाँदा विभिन्न स्थानमा राखिएका मौरीको स्याहार एक्लै गर्न कठिन भएपछि उच्च माध्यमिक तहमा करारमा अध्यापन गर्दै आउनुभएका उहाँका श्रीमान् पूर्णप्रसाद सिंखडाले शिक्षण पेसा छाडेर उद्यममा साथ दिन थाल्नुभयो । अहिले दुवै जना मिलेर मौरीको स्याहार गर्नुहुन्छ । कामको चाप बढी भएका बेला ज्यालामा सहयोगीसमेत बोलाउने गरिएको छ ।
फूलको स्रोतअनुसार तीन स्थानमा घार राखिएका छन् । तीमध्ये दुई स्थानमा आफ्नै जग्गा छ भने एउटा स्थान भाडामा लिइएको छ । पूर्णप्रसादका अनुसार वार्षिक पाँच सयदेखि सात सय किलोसम्म मह उत्पादन हुन्छ । मौरीका गोला बलिया र फूल पर्याप्त भएका बेला कात्तिक–मङ्सिरमै तीन सयदेखि चार सय किलोसम्म कटुसको मह काढ्न सकिन्छ । कटुसको मह प्रतिकिलो रु दुई हजारदेखि दुई हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ ।
सुरुमा कोसेलीका रूपमा मह चखाएर ग्राहक बनाएकी गोमाको उत्पादन अहिले घरबाटै बिक्री हुन्छ । अधिकांश ग्राहक धादिङकै छन् । काठमाडौँबाट माग आउँदा कहिलेकाहीँ गाडीमार्फत पठाउने गरिएको पूर्णप्रसादले बताउनुभयो । “घरबाटै बिक्छ, हामी कहीँ जानै परेको छैन,” उहाँले भन्नुभयो ।
महको उत्पादन सीमित हुने भएकाले घारसहितका गोला बिक्री गर्दा बढी फाइदा हुने गोमाको अनुभव छ । मौसम, गोलाको अवस्था र घार बनाउन प्रयोग गरिएको काठअनुसार एउटा घारसहितको गोला रु आठ हजारदेखि ११ हजारसम्ममा बिक्री हुने पूर्णप्रसादले जानकारी दिनुभयो । उहाँका अनुसार किसानले सीधै खरिद गर्ने गरेका छन् भने सरकारी कार्यालयले पनि अनुदान कार्यक्रममार्फत किसानलाई वितरण गर्न घारसहितका गोला खरिद गर्ने गरेका छन् ।

पहिलोपटक उत्पादन गरेको मह कोसेलीका रूपमा वितरण गरेकी गोमा अहिले आफ्नै लेबल र प्याकेजिङमा मह बिक्री विस्तार गर्ने तयारीमा हुनुहुन्छ । त्यसका लागि आवश्यक अनुज्ञापत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
उद्यमी सम्मानबाट प्राप्त रकम पनि व्यवसायमै दीर्घकालीन उपयोग हुने सामग्री खरिदमा लगाउने उहाँको योजना छ । “चाँडै नबिग्रने, जहिले पनि आफ्नो आँखाले देखिरहने, सधैँ चलनचल्तीमा आउने कुरामा हाल्न पाए हुन्थ्यो जस्तो लाग्या छ,” उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ