काठमाडौँ, ११ मङ्सिर । बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तरराष्ट्रिय दिवस पहिलो पटक मनाइरहँदा विश्व समुदायसामु एउटा गम्भीर प्रश्न उभिएको छ कि के दिगो विकास लक्ष्यले तय गरेको सन् २०३० सम्मको अवधिमा बालविवाह अन्त्य गर्ने महत्वाकांक्षी लक्ष्य पूरा होला कि अझै शताब्दीयौँ कुर्नुपर्ने हो। संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेका पछिल्ला तथ्याङ्कहरूले विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको देखाएका छन्। प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार भइरहँदा विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको यथार्थले समस्याको गहिराइलाई छर्लङ्ग पार्छ।
संयुक्त राष्ट्रसङ्घको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरी प्रत्येक वर्ष नोभेम्बर २७ लाई बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यका लागि अन्तरराष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेको हो। यस वर्ष पहिलोपटक मनाइँदै गरेको यो दिवसले बालविवाहलाई केवल सामाजिक कुरीतिका रूपमा मात्र नभई मानवअधिकारको गम्भीर उल्लङ्घनका रूपमा हेर्नुपर्ने आवश्यकता औँल्याएको छ। राष्ट्रसङ्घका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको थियो, जसले लाखौँ जीवनको भविष्यमा पारेको दीर्घकालीन असरलाई उजागर गर्छ।
तथ्याङ्कअनुसार विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ। विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख यस क्षेत्रमा रहेका छन् भने त्यसपछि उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख बालविवाहको चपेटामा परेका छन्। पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर १५ प्रतिशतले घटेको छ र यसअघि २५ प्रतिशत महिला तथा बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेकामा अहिले यो अनुपात घटेर करिब २१ प्रतिशतमा झरेको छ। यस अवधिमा करिब दुई करोड ५० लाख बालविवाह रोक्न सफलता मिलेको राष्ट्रसङ्घले जनाएको छ।
महासचिव एन्टोनियो गुटेरेसले गत अक्टोबर ११ मा मनाइएको अन्तरराष्ट्रिय बालिका दिवसका अवसरमा जारी सन्देशमा पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण तथा कानुनी सुधारका प्रयासबाट अनुमानित छ करोड ८० लाख बालविवाह रोक्न सफलता मिलेको उल्लेख गरेका थिए। तर, अहिलेकै प्रगतिको गति कायम रहे बालविवाह अन्त्य गर्न अझै शताब्दीयौँ लाग्ने चेतावनी उनले दिएका छन्। विशेषगरी दिगो विकास लक्ष्यको लक्ष्य नं ५.३ ले सन् २०३० सम्ममा बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाहलगायत सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखे पनि हालको गतिले अन्त्य हुन अझै करिब ३०० वर्ष लाग्ने राष्ट्रसङ्घको आकलन छ।
बालविवाहको मूल कारण गरिबी रहेको र द्वन्द्व, जलवायुजन्य विपद् तथा विस्थापनका समयमा यसको जोखिम अझ बढ्ने महासचिव गुटेरेसको सन्देशमा उल्लेख गरिएको छ। बालविवाहले बालिकाको शिक्षा प्राप्त गर्ने अवसर गुमाउनुका साथै आर्थिक आत्मनिर्भरता, स्वास्थ्य र व्यक्तिगत स्वतन्त्रतामा समेत प्रतिकूल असर पार्ने राष्ट्रसङ्घले जनाएको छ। यसले किशोरावस्थामै गर्भधारण, मातृस्वास्थ्यसम्बन्धी जोखिम, लैङ्गिक हिंसा तथा यौन शोषणको सम्भावना बढाउने गरेको छ।
लक्ष्य हासिल गर्न प्रयासको गति कति बढाउनुपर्छ भन्ने विषयमा राष्ट्रसङ्घीय निकायहरूबीच पनि गम्भीर चिन्ता व्यक्त भएको छ। राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का उपकार्यकारी निर्देशक टेड चाइबानले राष्ट्रसङ्घीय महासभाको ८१औँ अधिवेशनअन्तर्गत तेस्रो समितिमा बालविवाह अन्त्यका लागि सन् २०३० सम्मको लक्ष्य हासिल गर्न वर्तमान प्रयासको गति २० गुणा बढाउनुपर्नेमा जोड दिएका थिए। उनले १८ वर्षलाई विवाहको न्यूनतम उमेर निर्धारण गर्ने कानुनी व्यवस्था, त्यसको प्रभावकारी कार्यान्वयन, न्यायमा पहुँच र संरक्षण सेवाको सुनिश्चितता आवश्यक भएको बताएका छन्।
बालविवाह रोक्न कानुनी सुधारसँगै बालिकालाई विद्यालयमा टिकाइराख्ने, परिवारको आर्थिक अवसर विस्तार गर्ने र विभेदकारी लैङ्गिक मान्यता अन्त्य गर्ने प्रयासलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ। साथै, विवाह भइसकेका, गर्भवती तथा सन्तान भएका किशोरीलाई पनि शिक्षा निरन्तरता दिन वा पुनः विद्यालय फर्कन सहयोग गर्नुपर्ने र बालिकालाई आफ्ना जीवनसँग सम्बन्धित निर्णय तथा समाधान प्रक्रियामा सहभागी गराउनुपर्नेमा राष्ट्रसङ्घले जोड दिएको छ। सरकार, निजी क्षेत्र, नागरिक समाज तथा सामुदायिक नेतृत्वले प्रभावकारी कार्यक्रम र लगानी बढाएमा मात्र शताब्दीयौँ लामो प्रतीक्षालाई छोट्याउँदै बालिकाको अधिकार र भविष्य सुरक्षित गर्न सकिने देखिन्छ।