बलात्कार अभियोगमा जेराड डेपार्डियुविरुद्ध मुद्दा चलाउन अदालतको आदेश

बलात्कार अभियोगमा जेराड डेपार्डियुविरुद्ध मुद्दा चलाउन अदालतको आदेश

  • शुक्रबार, मंसिर ११, २०८३
  • मिर्मिरे अनलाइन

  • 475
    SHARES

एजेन्सी । दशकौँदेखि फ्रान्सका सबैभन्दा चर्चित र सफल अभिनेता मानिएका जेराड डेपार्डियुलाई एक नायिकालाई बलात्कार तथा यौन दुर्व्यवहार गरेको अभियोगमा अदालतमा मुद्दा चलाउन आदेश दिइएको छ। एक छुट्टै यौन दुर्व्यवहार मुद्दामा परेको पुनरावेदन डेपार्डियुले फिर्ता लिएको दुई साता नबित्दै फ्रान्सेली अधिकारीहरूले बिहीबार यो नयाँ आदेशबारे जानकारी दिएका हुन्।

सन् २०१८ मा युवा नायिका सार्लोट आर्नोल्ड २२ वर्षकी छँदा डेपार्डियुले पेरिसस्थित उसकै निवासमा बलात्कार गरेको आरोप लगाएकी थिइन्। त्यसको आठ वर्षपछि पेरिस पुनरावेदन अदालतले ७ अगस्ट २०१८ मा भएको भनिएको बलात्कार र यौन दुर्व्यवहारको घटनामा ७७ वर्षीय अभिनेता डेपार्डियुमाथि मुद्दा चलाउनुपर्ने फैसला सुनाएको हो। यद्यपि, सोही घटनाको ६ दिनपछि भएको भनिएको दोस्रो घटनासम्बन्धी अभियोग भने अदालतले खारेज गरिदिएको छ।

डेपार्डियुले आफूमाथि लागेका बलात्कारका यी सबै आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्। उनका वकील डेल्फिन मेलेले एपीसँग कुरा गर्दै बिहीबारको फैसलाप्रति असहमति जनाएका छन्। तर, फ्रान्सको नागरिक तथा फौजदारी मामिला हेर्ने सर्वोच्च अदालतमा यस फैसलाविरुद्ध पुनः चुनौती दिने वा नदिने भन्नेबारे उनले केही खुलाएका छैनन्। यसअघि अगस्ट २०२५ मा एक अनुसन्धान न्यायाधीशले डेपार्डियुलाई मुद्दा चलाउन दिएको आदेशको केही अंशलाई पुनरावेदन अदालतको यो फैसलाले निरन्तरता दिएको हो।

खासगरी कला तथा मनोरञ्जन क्षेत्रमा ‘मी–टू’ अभियानले विभिन्न अवरोध र चुनौतीको सामना गरिरहेको फ्रान्समा यो मुद्दा यौन हिंसा विरुद्धको सबैभन्दा प्रमुख र चर्चित मामिला बनेको छ।

आफ्नो विशाल शारीरिक बनावट, बांगो नाक र प्रभावशाली अभिनय कलाका कारण डेपार्डियुले आधा शताब्दीसम्म फ्रान्सेली सिनेमामा एकछत्र राज गरेका थिए। उनी फ्रान्सका सबैभन्दा परिचित सांस्कृतिक व्यक्तित्वका रूपमा चिनिन्थे। उनले ‘सिरानो डि बर्जेराक’ फिल्मबाट अस्कर अवार्डको उत्कृष्ट अभिनेताका लागि मनोनित भएका थिए भने ‘ग्रीन कार्ड’ बाट गोल्डेन ग्लोब अवार्डसमेत जितेका थिए। तर, पछिल्ला यौन दुर्व्यवहारका गम्भीर आरोपहरू र त्यसपछि भएका सजायका फैसलाहरूले उनको लामो फिल्मी विरासत र साखलाई छायामा पारिदिएको छ।

यसअघि गत १६ नोभेम्बरमा डेपार्डियुले सन् २०२१ मा एक फिल्म सेटमा दुई महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा भएको सजाय विरुद्धको पुनरावेदन फिर्ता लिएका थिए। सो मुद्दामा १८ महिनाको जेल सजाय स्वीकार गर्दै उनले सार्वजनिक रूपमा माफी मागेका थिए, जुन उनका अघिल्ला अस्वीकारहरूभन्दा पूर्ण रूपमा फरक कदम थियो। आफ्नो लिखित वक्तव्यमा डेपार्डियुले भने, ‘यसबाट पीडित भएका व्यक्तिहरूप्रति म गहिरो र सच्चा क्षमायाचना व्यक्त गर्दछु।’

डेपार्डियुलाई मे २०२५ मा ‘लेस भोलेट्स भर्ट्स’ (द ग्रीन सटर्स्) फिल्मको छायांकनका क्रममा एक सेट डेकोरेटर र एक सहायकमाथि अश्लील व्यवहार गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। अदालतले उनको नाम फ्रान्सको राष्ट्रिय यौन अपराधीको सूचीमा समावेश गर्नसमेत आदेश दिएको थियो। ‘फिल्मका सेटहरूमा मैले लामो समयसम्म जिस्क्याउने र अश्लील ठट्टा गर्ने गरें। मेरा शब्द र त्यस्ता व्यवहारको कुनै दुष्परिणाम हुँदैन भन्ने मैले ठानेको थिएँ। तर मेरो जत्तिकै शक्ति र पहुँच भएको व्यक्तिबाट आउँदा त्यसको परिणाम पर्दोरहेछ,’ डेपार्डियुले भने।

डेपार्डियु सम्बन्धी विवाद डिसेम्बर २०२३ मा अझ चर्किएको थियो, जब एक टेलिभिजन डकुमेन्ट्रीमा सन् २०१८ को उत्तर कोरिया भ्रमणका क्रममा उनले बारम्बार यौनजन्य र अश्लील टिप्पणी तथा इसाराहरू गरेको दृश्य सार्वजनिक भयो। सो विवादमा फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले समेत उनको बचाउमा प्रतिक्रिया दिएका थिए। राष्ट्रपति म्याक्रोनले अभिनेता डेपार्डियुलाई निर्दोष रहेको अनुमानका आधारमा ‘फ्रान्सलाई गौरवान्वित बनाएको’ भनाइ राख्दै आफू कुनै पनि ‘मानव–शिकार’ मा सहभागी नहुने बताएका थिए। उनको यो अभिव्यक्तिपछि महिला अधिकारकर्मीहरूले कडा आलोचना गरेका थिए।

यस विवादले फ्रान्सभित्र गहिरो विभाजन निम्त्याएको थियो। जहाँ केही चर्चित सांस्कृतिक हस्तीहरूले मी–टू अभियानको विरोध गर्दै आएका छन्। सन् २०१८ मा प्रसिद्ध अभिनेत्री क्याथरिन डेनेउभ र अन्य ९९ जना महिलाहरूले एक संयुक्त खुला पत्रमा हस्ताक्षर गर्दै पुरुषहरूको महिलाहरूतर्फ आकर्षित हुने र अघि बढ्ने स्वतन्त्रताको रक्षा गरेका थिए। उनीहरूले सो अभियानका कारण हुनसक्ने अतिवादप्रति सजग गराएका थिए।

सन् १९४८ मा मध्य फ्रान्सको चाटोरक्सस्थित एक श्रमजीवी परिवारमा जन्मेका डेपार्डियुले आफ्नो बोलीको समस्यालाई माथ दिँदै फ्रान्सका सबैभन्दा लोकप्रिय र सक्रिय अभिनेता बन्न सफल भएका थिए। उनको अभिनय यात्रा ‘द लास्ट मेट्रो’, ‘जिन डि लोरेट’ देखि प्रख्यात ‘एस्टेरिक्स’ सिरिजसहित सयौँ फिल्महरूमा फैलिएको छ। तर पर्दा पछाडिका उनका अनेकौँ विवाद र निकृष्ट व्यवहारहरूले पनि अन्तर्राष्ट्रिय मिडियामा चर्चा पाउने गरेका छन्। विशेष गरी सन् २०१३ मा फ्रान्सको करसम्बन्धी विवादपछि उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट रुसी नागरिकता (पासपोर्ट) स्वीकार गर्दा ठूलो हलचल मच्चिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ