काठमाडौँ। देशभर चिसो बढ्ने क्रम तीव्र भएसँगै आज मङ्गलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। आइतबार ८.३ डिग्री सेल्सियस र सोमबार ८ डिग्री सेल्सियसमा रहेको काठमाडौँको न्यूनतम तापक्रम आज बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा ७.९ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभएको छ।मौसमविद् अधिकारीका अनुसार यो सुरुवाती मापन मात्र भएकाले आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन गरिनेछ र त्यतिबेलासम्म तापक्रम अझै घट्ने सम्भावना रहन्छ। महाशाखाले हरेक दिन बिहान ८:४५ बजे न्यूनतम तापक्रम र साँझ ५:४५ बजे अधिकतम तापक्रम मापन गर्दै आएको छ। सोमबारको विवरण अनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ७.६ डिग्री सेल्सियससम्म झरेको थियो भने आजको नयाँ मापन बिहान ८:४५ बजे सार्वजनिक हुनेछ।आज बिहान तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। महाशाखाको पछिल्लो प्रक्षेपण अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ भने राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागी बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बिहानीपख तराई, उपत्यका र खोचका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने क्रम जारी रहनेछ भने महाशाखाले बिहान ८ बजे थप अद्यावधिक मौसम बुलेटिन सार्वजनिक गर्ने तयारी गरेको छ।