काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल भिडन्तमा लुम्बिनी लायन्सलाई १० विकेटको भारी अन्तरले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले पहिलो पटक उपाधि चुमेको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सम्पन्न फाइनल खेलमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै सहजै पूरा गर्यो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनको योगफल तयार पारेको थियो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३० रन, निरोशन डिकवेलाले २८ रन तथा डार्सी सर्टले २१ रनको योगदान दिएका थिए।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, हेमन्त धामी र तारिन्दु रत्ननायकेले १-१ विकेट हात पारे। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम रोयल्सले आक्रामक सुरुवात गर्दै बिना कुनै क्षति १३.३ ओभरमै १५८ रन बनाएर जित पक्का गर्यो।
यस जितसँगै अघिल्ला दुई संस्करणका फाइनलमा भोगेको पराजयको शृंखला तोड्दै सुदूरपश्चिमले एनपीएलको नयाँ च्याम्पियन बन्ने कीर्तिमान बनाएको छ।