पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा बढ्दो राजनीतिक द्वन्द्व, भूराजनीतिक चलखेल र राज्यका निकायमा देखिएको अव्यवस्थाले देश गम्भीर सङ्कटतर्फ अघि बढिरहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सत्तापक्ष र प्रतिपक्षभित्र बढ्दो अन्तरसंघर्ष, न्यायालय, प्रशासन तथा प्रहरीमा देखिएको अस्तव्यस्तता र अर्थतन्त्रको कमजोर अवस्थाले मुलुकको परिस्थिति जटिल बन्दै गएको बताएका हुन्।
उनले प्राकृतिक प्रकोपको जोखिम, युवाहरूको विदेश पलायन तथा सञ्चार क्षेत्र र नागरिक वृत्तमा बढ्दो निराशालाई समेत देशका लागि चिन्ताजनक संकेतका रूपमा औँल्याएका छन्।
भट्टराईले मुलुकले अब थप अस्थिरता र राजनीतिक उथलपुथल धान्न नसक्ने उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘सबै आ–आफ्नो क्षेत्रबाट गम्भीर बनौँ। सक्छौँ, सकारात्मक योगदान गरौँ, सक्दैनौँ नकारात्मक काम नगरौँ।’
भट्टराईको यो अभिव्यक्तिले मुलुकको वर्तमान राजनीतिक, आर्थिक र संस्थागत अवस्थाबारे गम्भीर बहसको आवश्यकता औँल्याएको छ।