काठमाडौँ, १३ कात्तिक। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकारहरू रिहा भइसकेको जानकारी दिएका छन्।
शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री तिमिल्सिनाले पक्राउ परेका पत्रकारहरू छुटेको पुष्टि गर्दै सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका हुन्। “पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,” उनले लेखेका छन्, “सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।”
यसअघि शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो। प्रहरी टोलीले ‘नेपालप्रेस’का विश्वमणि सुवेदी, ‘डीएनखबर’का धीरज बस्नेत र ‘मोटिभेट न्युज’का शोभराज बराललाई नियन्त्रणमा लिएको थियो।
यसैगरी, ‘नयाँ पत्रिका’मा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकका प्रहरी कार्यालयभित्रै प्रवेश गरेका थिए। मैनालीलाई लगेरै छाड्ने भन्दै टोली दुई घण्टाभन्दा बढी समय कार्यालयमै बसेको थियो। पछि साँझ प्रहरीले पत्रकार मैनाली र सम्पादक खगेन्द्र पन्तलाई शनिबार साइबर ब्युरोमा हाजिर हुन उर्दी दिँदै कार्यालय छाडेको थियो।